मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी खोलाकाे पहिरोमा परी ज्यान गुमाएका विकल रेग्मीको पार्थिव शरीरलाई निजगढ नगर परिक्रमा गरेर अन्तिम बिदाइ गरिएको छ। इन्द्रसरोबर– ४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले संचालन गरेको आवासीय एकेडेमीका प्रशिक्षार्थी खेलाडी विकलको पहिरोमा परी ज्यान गएको थियो।
बाराको निजगढ नगरपालिकाले विकलको पार्थिक शरीरलाई सहिद हिरालाल रंगशालामा राखेर सम्मानसहित अन्तिम बिदाइ गरेको हो। निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले उनको सम्झनामा नगरले हरेका बर्ष ‘बिकल स्मृति जुनियर फुटबल प्रतियोगिता’ आयोजना गर्ने घोषण गरेका छन्।
‘विकलको मृत्युले निजगढ नगरपालिका र राष्ट्रले नै ठूलो क्षति बेहोरेको छ। नगरले उनको सम्झनामा हरेका बर्ष बिकल स्मिती जुनीयर फुटबल प्रतियोगिता गर्ने छ’ नगरप्रमुख पुरीले भने, ‘आउँदै गरेको बिजया दशमी तथा तिहारमा नगरले नियमित गर्दै आएको चियापान लगाएत खुसी साटासट तथा अन्य कार्यक्रम यस वर्ष गरिने छैन।’
विकलको पार्थिव शरीरमा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, बलवीर चौधरी, प्रदेश सभा सदस्य मिना लामा, नगर उपप्रमुख सोममाया थिङ, पूर्व नगरप्रमुख सुरोश खनाल, पूर्वउपप्रमुख लिलादेवी लामिछाने, सुदर्शन प्रसाद कोइरालालगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्।
जिल्ला, प्रदेश हुँदै केन्द्र (च्यासल) बाट विभिन्न प्रतिगोगिताहरुबाट यू–१३ टोलीको लागि उनी अखिल नेपाल फुटबल संघ (एन्फा)को छनौटमा परेका थिए। एन्फाको छनोटमा परी गत बैशाख अन्तिम साता निजगढको बकैया ठाकुर मावि र वडा कार्यालयबाट प्रशंसा पत्रसँगै बिदाइ भएर सिस्नेरी क्याम्प पुगेका थिए। बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका १४ वर्षका विकल रेग्मीको मृत्युपछि परिवार, आफन्त, छिमेकीसहित नगर नै शोकमा डुबेको छ।
पढाईसँगै यू–१३ का लागि राष्ट्रिय खेलाडी बन्ने उनको सपना थियो। तर, क्याम्प बस्न थालेको साढे चार महिनामै बिकलको सपना पहिरोमा पुरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा सञ्चालित आवासीयसहित फुटबल सिकाउने माविलाई इन्द्रसरोवरको पानीले डुबानमा पार्ने भएपछि क्याम्प (विद्यालय)का ३७ प्रशिक्षार्थीमध्ये ६ जना छोटो बाटो भएर डुबानबाट जोगिन निस्कने प्रयास गरेका थिए। तर उनीहरु पहिरोमा पुरिए। त्यसैमध्येका एक थिए– बिकल । बिकलको उनकै गृहनगरमा सोमबार धार्मिक विधिअनुसार अन्तिम संस्कार समेत गरिएको छ।
यु–१३ उमेर समूहमा बिकलसहित निजगढका पाँच प्रशिक्षार्थीले सिस्नेरीस्थित एन्फा एकेडेमीमा फूटबल प्रशिक्षण गरिरहेका थिए । अन्य चारजना भने सुरक्षित छन्। उनीहरु गत जेठदेखि सिस्नेरीमा थिए।