हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएका छन् । मंगलबार सम्पन्न दुई खेलमा निजगढ भेट्रान्स बारा र हरिवन भेट्रान्स सर्लाही विजयी भएका हुन् ।
मंगलबारको पहिलो खेल हेटौंडा भेट्रान्स र हरिवन भेट्रान्सबीच भएको थियो । जसमा हेटौंडा ०–४ गोलको अन्तरले पराजित भएको हो । हरिवनबाट चन्द्र बहादुर स्याङतानले २, छत्रबहादुर कार्की र लाल बहादुर लामाले १÷१ गोल गरे ।
त्यस्तै रोटरी पिप्ले भेट्रान्स र निजगढ भेट्रान्सबीच भएको दोस्रो खेलमा रोटरीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै निजगढले जित हात पारेको छ । जीतसँगै हरिवन भेट्रान्स र निजगढ भेट्रान्स प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
वुधबार प्रतियोगितामा दुई खेल सञ्चालन हुँदैछ । पहिलो खेल दिउँसो २ बजे युनिटी भेट्रान्स वीरगञ्ज र फ्रिडम फाइटर भेट्रान्स काठमाडौंबीच हुनेछ । त्यस्तै दोस्रो खेल अभिषेक चर्च भेट्रान्स नवलपुर र सिमरा भेट्रान्स बाराबीच हुने आयोजकले जनाएको छ ।
४० वर्षदेखि माथि उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता ११ ए साइडमा सञ्चालन भएको छ ।
यसअघि २०७२ र ०७३ सालमा खेल आयोजना गरेको रोटरी क्लब अफ मकवानपुरले लामो समयपछि प्रतियोगितालाई निरन्तरता दिएको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्टलाई समेत पुरस्कारको व्यवस्था रहेको छ ।