निजगढ ९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयन अन्यौलमा परेको छ ।
साधारण सभा सम्पन्न भएको लामो समय बितिसक्दा समेत नयाँ कार्यसमिति चयन हुन नसकेपछि अन्यौल बढेको हो ।
गत असार महिनाको पहिलो साता भएको वन समूहको साधारण सभामा सर्वसम्मत हुन नसकेपछि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन समितिले १ साताको लागि समय दिएको थियो ।
पहिलो पटक थपिएको समयसिमा त्यसै गुज्रिएपछि निर्वाचन समितिले सर्वसम्मत गर्न भनेर दोस्रो पटक अर्को एक साता समय थप गरेको हो । २ पटकसम्म समय थप गर्दा पनि समिति चयन नभएपछि हाल समितिले निर्वाचनको अर्को मिति तोकेको छैन । समितिले निर्वाचनको अर्को मिति नतोकेकाले समूहको नयाँ कार्यसमिति चयन अन्यौलमा परेको उपभोक्ताहरुले बताएका छन ।
निर्वाचन समितिका संयोजक एवंम सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले २ पटकसम्म समय थप गर्दा पनि सर्वसम्मतिको वातावरण तयार हुननसकेको र निर्वाचनको अर्को मिति पनि तय नगरिएको बताए । उनले अझै पनि सहमतिको प्रयास जारी रहेको र यसको लागि पहल गर्न निजगढ वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसंग आग्रह गरिएको जानकारी दिए ।
निर्वाचन समितिमा सब डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल, निजगढ नगरपालिकाका वन तथा वातावरण इकाइका अधिकृत अनिल कोइराला, निजगढ वडा नम्बर ९ की वडा समिति सदस्य बबिता श्रेष्ठ र निजगढ ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष गणेश भण्डारी रहेका छन ।