निजगढ नगरपालिका कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ कोे लागि नगर क्षेत्रभित्रको हाटबजार र विज्ञापन कर बन्दोबस्त गर्न आह्वान गरेको बोलपत्र शुक्रबार सार्वजनिक गरेको छ ।
नगरपालिकाले सार्वजनिक गरेको बोलपत्रअनुसार निजगढ र रतनपुरी हाटबजार तथा विज्ञापन करको ठेक्का लागेपनि भरतगंजसिगौल हाटबजारमा भने एउटा पनि बोलपत्र नपरेपछि फेरि अर्को बोलपत्र आह्वान भएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार पुरुषोत्तम खुलालले निजगढ हटबजारको लागि सबैभन्दा बढी २० लाख १ हजार रकम बोलकबोल गरेका थिए भने कृष्णबहादुर मगरले ३ लाख ५० हजार ५ सय रुपैया कबोलेर रतनपुरको ठेक्का प्राप्त गरेका छन ।
त्यसैगरी विज्ञापन करको लागि भने सबैभन्दा बढी ४ लाख १ हजार १ सय ५० रुपैया बोलकबोल गर्ने कुपण्डोल, ललितपुरको एउटा कम्पनीले ठेक्का पाएको छ । ठेक्का बन्दोबस्तिमार्फत नगर क्षेत्रभित्रको हाटबजार र विज्ञापन कर संकलन गर्न कार्यालयले गत साउन २ गते बोलपत्र मागेको थियो ।
कार्यालयले निजगढ हाटबजारको लागि न्यूनतम २० लाख, भरतगंजसिगौंल हाटबजारको लागि ३ लाख र रतनपुरीको लागि ३ लाख ५० तथा विज्ञापन करको लागि भने २ लाख रुपैया न्यूनतम दरभाउ तोकेको थियो । पहिलो पटकको सूचना अनुसार बोलपत्र नपरेपछि सिगौंल हाटबजारको लागि नगरपालिकाले हिजो दोस्रोपटक बोलपत्र आह्वान गरेको छ ।