निजगढ हुदै बग्ने बकैया नदीले बिहिबार र शुक्रबार सतर्कता तह पार गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका जुरेलीमा मापन गरिएको बकैया नदीको जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विभागले जनाएको छ ।

नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन विभागले मोबाइलमा एसएमएस पठाएर आग्रह गरको छ । मकवानपुरस्थित बकैया नदी जुरेली बजार केन्द्रमा बिहिबार बिहान ११ बजे र शुक्रबार बिहान ५ बजे नदीले सतर्कता तह पार गरेको मापन भएको थियो ।

निरन्तर भएको वर्षा भइरहेकाले नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको भन्दै बकैया नदीको बारा र रौतहट जिल्लाको तटीय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

यसैबीच बकैया नदीमा हिजो आएको बाढीले निजगढमा निर्माण भएको च्यानलाईज बाँध थप भत्काएको छ । बाँध भत्किएपछि नदीको धार सोझिएपछि निजगढ ९ स्थित आर्यघाट जोखिममा परेको छ । बाढीले आर्यघाटमा रहेको स्याल्याब ढलान भत्काउन थालेको हो ।

निजगढ नगरपालिकाले सडक डिभिजन कार्यालय हेटौडाको सहयोगमा २ साताअघि निर्माण गरेको च्यानलाईज बाँधले बकैया पुलबाट उत्तरतर्फको क्षेत्र सुरक्षित तुल्याएको भएपनि बिहीवारको बाढीले पुल दक्षिणतर्फको आर्यघाट क्षेत्रको ड्याममा जोखिम बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय