राष्ट्रिय धान दिवसको अवसरमा निजगढ नगरपालिकाले हिजो निजगढ वडा नम्बर ५ स्थित खोल्सी टोलमा रोपाइँ महोत्सवको आयोजना गरेको छ ।
स्थानीय किसानको खेतमा धान रोपाइँ गरेर नगरपालिकाले दिवस मनाएको हो । सो अवसरमा बोल्दै निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले अबको खेती जलवायुमैत्री हुनुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा किसानहरुले हजारौं वर्षदेखि परम्परागत धान खेती गर्दैआएको भएपनि अब आधुनिक प्रविधिसहित जलवायुमैत्री तरिकाले खेती गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासको लागि निजगढ नगरपालिकाले विशेष प्राथमिकताका साथ काम गरिरहेको पनि बताउनुभयो ।
नगर प्रमुख पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापामगर, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेबी खनाल लामिछाने, सहकारीकर्मी टेकप्रसाद चौलागाईलगायतले धान दिवसको महत्वको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा निजगढका जनप्रतिनिधिसहित विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र किसानहरुले धान रोपाइँ गरेका थिए ।
यसैबीच निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले धान दिवस मनाएको छ । जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ हिजो देशैभरि मनाइएको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा विद्यालयले विद्यार्थी शिक्षक अभिभावकको सहभागितामा रोपाईँ गर्दै दिवस मनाएको हो ।
विद्यार्थीहरुलाई कृषिको महत्व र धान दिवस मनाउनुको कारण लगायतका विषयमा जानकारी गराउँदै दिवस मनाइएको विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले बताउनुभयो । विद्यालयका विद्यार्थी तथा शिक्षकहरु बंखुटोलमा रहेको बारीमा पुगेर रोपाइँ गरेका हुन् । पछिल्लो समयमा शिक्षा व्यवहारिक नभइरहेको गुनासो आउने गरेको र विद्यार्थीलाई सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीहरुकै सहभागितामा रोपाइँ गरिएको प्रधानाध्यापक स्वर्णकारले बताउनुभयो । विद्यालयमा कक्षाकोठाको पढाइका साथै व्यवहारिक ज्ञान, अतिरिक्त क्रियाकलाप लगायतका कार्य गरी विद्यार्थीलाई गुणस्तरीय सिकाइका लागि विद्यालय लागिरहेको प्रधानाध्यापक स्वर्णकारको भनाई छ ।
रोपाईँ दिवसमा विद्यालयका सहायक प्रधानाध्यापक टेकराज भण्डारी, शिक्षक अम्बिका घिमिरे, कल्पना आचार्य, रुपेश भट्टराई, सुरेन्द्र सुवेदी, निशा लामा, कविना पौडेल, सत्यश्ैव बाल क्लबका अध्यक्ष अफ्रोज खान, उपाध्यक्ष काजल महतो, सचिव सुमन रौनियार लगायत विद्यार्थीको सहभागिता रहेको थियो । ’जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ हिजो देशभर २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।