निजगढ,
बाराको निजगढ नगरपालिकाले नदीजन्य पदार्थ व्यवस्थापन गर्न दुई वटा एक्साभेटर भाडामा लिने भएको छ ।

नगरपालिका भएर बग्ने बकैया खोला, बगर खोला, भक्तालाल खोला, धन्सार खोला, शक्ति/पसाह लगायतका खोलाको बगरमा गिटी, बालुवालगायत नदीजन्य पदार्थ थुप्रिएर बाढी र नदी कटानको समस्या उत्पन्न भएकाले सोको व्यवस्थापन गर्न एक्साभेटर भाडामा लिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिनुभयो ।

नगर विपद व्यवस्थापन समितिको स्थलगत अनुगमनपछि च्यानलाइज गर्नुपर्ने भनेर पहिचान गरिएका स्थानहरुमा तत्कालै सो कार्य अघि बढाउन २ थान एक्साभेटर भाडामा लिने जेष्ठ २० गतेको बैठकले निर्णय भएको र सोही अनुसार एक्साभेटर भाडामा लिन लागिएको उहाँको भनाई छ ।

नगरपालिकाले एक्साभेटर भाडामा लिनका लागि जेष्ठ २७ गते सूचना जारी गरेको छ । सो सूचना अनुसार एक्साभेटर भाडामा लगाउन इच्छुक धनी, व्यक्ती वा फर्मले ७ दिनभित्रमा दररेट सम्बन्धी सिलबन्दी प्रस्ताव पेश गर्न नगरपालिकाले आह्वान गरेको छ ।

खोला बगरमा नदीजज्य पदार्थ थुप्रिदाँ वर्षातको समयमा नदीले धार परिवर्तन गरी मानव बस्ती, खेतियोग्य जमिन, वनजंगल, सडक, नदी नियन्त्रणका लागि बनाइएको ड्याम र अन्य पूर्वाधारलगायतमा ठूलो क्षति हुने सम्भावना देखिएकोले नियन्त्रण र व्यवस्थापनमा नगरपालिकाले तदारुकता देखाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय