निजगढमा ६७ औं सहकारी दिवस मनाइएको छ । निजगढ नगरपालिकाको योजना शाखाको आयोजनामा मंगलबार सहकारी दिवस मनाइएको हो ।

सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ नाराका साथ यसवर्ष सहकारी दिवस मनाईएको छ । नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको शुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

कार्यक्रममा निजगढमा रहेका विभिन्न सहकारी संस्थाका प्रमुख र प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीले सहकारी व्यवस्थापन र नियमनका लागि नगरपालिकाले दिगो नीति बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बेल्दै निजगढ नगरपालिकाकी नगर उपप्रमुख सोम माया थिङ्गले सहकारीले लिनुपर्ने र फिर्ता गर्नुपर्ने नागरिकको बचत रकम कति छ भन्ने यकिन तथ्यांक पालिका संग नभएको भन्दै यसको नियमनका लागि सफ्टवेयरको प्रयोग गनुपर्ने बताईन ।

यस्तै सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसंगतिका कारण यसको लोकप्रियता खस्किँदै गइरहेको र नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समूहले गरेको अपचलनका कारण पनि सहकारीमा संकट निम्तिएको हुदाँ बचतकर्ता र सहकारीबिच विश्वसनियता बढाउनुपर्ने निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए ।

यसैगरी सहकारी ऐनले, सहकारी दर्ता र नियमनको अधिकार संघअन्तर्गतको सहकारी विभागसहित प्रदेश र स्थानीय तहमा विभाजन गरेको र नगरपालिकाको क्षेत्राधिकार मातहतका सहकारीलाई व्यवस्थापन र नियमनका लागि नगरपालिकाले दिगो नीति बनाउने निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताए । उनले संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसकेको हुदाँ धेरै संस्थाको कारोबार जोखिमपूर्ण देखिएको हुदाँ सहकारी मर्जर गनुपर्ने बताए ।

निजगढ नगरभित्र अहिले झण्डै ४४ वटा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झण्डै १० हजार सदस्य छन् । पछिल्लो समय सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर र विश्वसनियतामा भने बढ्न सकेको छैन । कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । सहकारीले आफ्नो रकम अपचलन गरेको भन्दै बचतकर्चा नै आन्दोलनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय