महिलाहरुमा स्वास्थ्य समस्या अघिक रहेको भन्दै बाराको निजगढमा महिलाहरुका लागि मंगलबार र बुधबार भएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । साथी नेपालको आयोजना तथा काठमाडौ वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ९ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।
निजगढ नगरपालिका वडा नम्बर ५ र ६ को सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. आषिश बस्नेत सहितको टोलिले पहिलो दिन वडा नम्बर ५ मा ४ सय ७५ बिरामिको स्वास्थ्य जाँच तथा उपचार गरेका थिए भने शिविर दोस्रो तथा अन्तिम दिन वडा नम्बर ६ मा ४ सय २५ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।
शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर जाँच लगायतको परीक्षण तथा उपचार गरिएको थियो । पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरुलाई सुबिधा सम्पन्न अस्पतालमा लगेर अप्रेसन सेवा प्रदान गरिने आयोजक साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताइन् ।
समाजमा महिलाको स्वास्थ्य सुधार र महिलाहरुको जीवनस्तर उकास्नको लागि महिलाको स्वास्थ्यलाई सुधार गर्नुपर्नेमा जोड दिदै नागरिकलाई सानो सहयोग हुन्छकी भन्ने उदेश्यले आफूले शिविर सञ्चालन गर्दै आएको अध्यक्ष सापकोटाले जानकारी दिइन् ।