नेपाल विद्युत् प्राधिकरणद्वारा निलम्बनमा परेका बारा निजगढ नगरपालिका वडा नम्बर ९ निवासी कर्मचारी (सहायक इन्जिनियर) दिनेश शिवाकोटीले न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिएका छन ।
गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्दै लेखेको पत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनले यस्तो चेतावनी दिएका हुन ।
हस्त लिखित पत्रमा शिवाकोटीले आफ्नो जीवन रक्षाको माग गर्दै ७ दिनभित्र सुशासनको प्रत्याभूति नभए प्राधिकरण परिसरभित्रै आत्मदाह गर्ने चेतावनी दिएका हुन । पत्रको बोधार्थ ऊर्जा मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयलाई समेत पठाइएको शिवाकोटीले उल्लेख गरेका छन ।
उनले २४ फागुनमा राष्ट्रपतिलाई समेत पाँच पनाको पत्र लेखेर विभिन्न माग राखेका थिए । यसअघि नेविप्रा कर्मचारी सेवा, शर्त नियमावली २०७५ (संशोधनसहित) विपरीतको गतिविधि गरेको भन्दै सहायक इन्जिनियर शिवाकोटीलाई प्राधिकरणले २३ फागुनदेखि लागु हुने गरी ६० दिनका लागि सेवाबाट निलम्बन गरेको थियो ।



