राष्ट्रिय स्वतन्त्र पार्टी निजगढले निर्मला पन्त, सालीन पोखरेल र रेशम मगरको सम्झनामा आईतबार दीप प्रज्वलन गरिएको छ।
पाँच वर्ष अगि कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया किशोरी निर्मला पन्त, एक साता अगाडि चितवन–रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा मृत फेला परेकी १४ वर्षिया किशोरी सालीन पोखरेल र गत सोमबार बाराको निजगढमा विस्फोट परी ज्यान गुमाएका ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजतको न्याय तथा घटनको सत्यतथ्य छानबिनका निम्ती राष्ट्रिय स्वतन्त्र पार्टी निजगढले आईतबार साँझ निजगढको शहिद चोकमा दीप प्रज्वलन गरेको हो ।
रास्वपा निजगढले विस्फोटमा मृत्यु भएकाहरुको उपचारमा भएको खर्च तथा घाइते भएकाहरु निःशुल्क उपचार गरिनुपर्ने माग समेत गरेको छ । उनीहरुले मृतक भएकाहरुको आत्मा शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरेका थिए ।
१० साउन २०७५ मा हराएकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पाँच वर्षसम्म पक्राउ परेका छैनन् सरकारको ध्यानाकर्षण नगराउने हो भने त न्याय पाउने नदेखिएको हुदाँ दीप प्रज्वलन गरेर सरकारलाई ध्यानाकर्षण गराएको रास्वपा निजगढका अध्यक्ष रामहरी खरेलले बताए । उनले भने ,‘देशमा दिनैपिछे बलात्कार, हत्या भएका छन । एक साता अगाडी मात्रै यहीँ निजगढमा विस्फोट समेत भएको छ, पाँच वर्ष अगाडी कञ्चनपुरकी किशोरी निर्मला पन्त सहित एक साता अगाडि छात्रावासमा मृत फेला परेकी १४ वर्षिया किशोरी सालीन पोखरेल र गत सोमबार बाराको निजगढमा विस्फोट परी ज्यान गुमाएकाहरुले न्याय पाउनुपर्छ भनेर नै आज दीप प्रज्वलन गरिएको हो ।’
दीप प्रज्वलनमा सहभागीहरूले शालिन लाई मर्न बाध्य पार्ने लाई कार्वाही होस, बिस्फोटक पदार्थको सत्यतथ्य छनबिन होस, बिस्फोटक पदार्थ बाट मृतकको उपचार निशुल्क होस, बिस्फोटक पदार्थको उचित छानबिन होस, शालिन लाई न्याय मिलोस लेखिएको प्लेकार्ड बोकेका थिए।