दूध बिक्रीको रकम भुक्तानी नपाएको भन्दै बाराका दूध उत्पादक किसानले बिहिबार निजगढस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध जनाएका छन ।

निजगढको पूर्वपश्चिम राजमार्गस्थित शहीद चोकमा जिल्लाका विभिन्न पालिकाबाट भेला भएर किसानले बिहान १० बजेदेखि १२ बजेसम्म सडक अवरुद्ध पारेका हुन ।

किसानहरुले राजमार्गमै बसेर नारा जुलुससहित प्रदर्शन गरेपछि रोकिएका सवारी र ढुवानीका साधनहरुलाई बाइपास सडकमार्फत सुचारु गर्ने क्रममा केही बेर प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच हात हालाहालसमेत भएको थियो । किसानहरुले बाइपास सडक समेत अवरुद्ध पार्न खोजेपछि उनीहरुलाई रोक्ने क्रममा दुबै पक्षबीच तनाव उत्पन्न भएको हो । आक्रोशित किसानहरुले ईलाका प्रहरी कार्यालयअगाडि पुगेर प्रदर्शन गरेपछि केही बाइपास सडक पनि अवरुद्ध बन्नपुगेको थियो ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ बाराको आयोजनामा भएको आन्दोलनमा जिल्लाभरका दुग्ध किसान र संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, निजगढस्थित विभिन्न पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।
देशव्यापी आन्दोलनको घोषणा गरेका किसानहरुले ‘बिक्री भएको दूधको भुक्तानी पाउनुपर्ने, ‘मिल्क होलिडे’ अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग राखेर बिहीवार देशका सबै प्रमुख मार्गमा २ घण्टा अवरुद्ध पारेका थिए ।

दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी नपाएको भन्दै देशैभरका किसान आन्दोलनमा छन् । दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि सरकारले दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय