
निजगढ नगरपालिकाले क्षयरोगका शंकास्पद बिरामीहरुको पहिचान गरी विषेशज्ञसहित स्वास्थ्यकर्मीहरुको टोलीव्दारा उपचार सेवा क्याम्प संचलन गर्ने भएको छ ।
क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत निजगढ नगरपालिका स्वास्थ्य शाखाले भोलि बुधवार निजगढ वडा नम्बर २ सिंगौलबाट क्याम्प संचालन गर्न लागेको हो ।
नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले दिएको जानकारी अनुसार बिहीवार वडा नम्बर ११ को रतनपुर र शुक्रवार वडा नम्बर ७ को योजना टोलमा क्षयरोग स्क्रिनिङ्ग क्याम्प संचलन गरिने छ ।
क्याम्पमा लामो समयदेखि लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो र पसिना आउने, खानामा अरुची हुने, शरीरको तौल घटने, छाती दुख्ने र सास फेर्न गाहे हुुने तथा खकारमा रगत देखापर्ने जस्ता समस्या देखिएकाहरुको छातीको एक्स्रे सहित स्क्रिनिङ्ग गरेर रोगको निदान र उपचार गरिने घिमिरेले बताए ।