जिल्ला ट्राफिक प्रहरी बाराले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक संकेत बोर्ड र ‘रिफ्लेक्टीभ स्टीकर’ टास्ने अभियान सञ्चालन गरेको छ । चिसो मौषम सुरु भएसँगै बढ्दो हुस्सु र रातिको बेला भिजीबिलीटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ट्राफिक संकेत बोर्ड र रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान जिल्लाभर सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले विभिन्न स्थानमा ब्याक लाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने ‘रिफ्लेक्टिभ स्टिकर’ टाँसेका हुन् । टाढैबाट टल्किने स्टीकर देख्न सकिन्छ जसले दुर्घटनामा कमी ल्याउन सकिने ट्राफिक प्रहरीको भनाई छ ।

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पहिलो चरणमा ट््याक्टर र अटो रिक्सा लगायतका सवारीसाधन, पुलमा स्टीकर टाँस र दुर्घटना संम्भाबित स्थानमा ट्राफिक संकेत बोर्ड लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख राम कुमार महतोले बताए ।

नियमित काम र अभियानसँगै कार्यालयले साइकल, ठेलागाडि, ट्रिपर, लामो तथा छोटो दुरीका सवारी साधनमा समेत रिफ्लेक्टीभ स्टीकर टाँस गर्ने, सडक किनारमा ट्राफिक संकेत जडान गर्ने योजनाका साथ लागि परेको उनले बताए ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानहरु चलाएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकहरुलाई सम्मान गर्दैै सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरी सवारी साधन नचलाउन, तीब्र गतिमा सवारी साधन नचलाउन भन्दै सवारी चालकलाई सचेतना समेत गर्दै आएको छ ।

बढी दुर्घटना हुने स्थानको पहिचान गरी न्यूनीकरणका उपाय, ट्राफिक लाइट सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदै आएको छ । रातिको समयमा स्टीकर नहुँदा यातायातका साधनहरु ठोक्किन गई दुर्घटना हुने भएकोले प्रहरीले सबै सवारी साधनमा स्टीकर टाँस्न समेत आग्रह गरेको छ ।

अभियान जिल्लाभर सुरु गरिएको छ जस्ले गर्दा हस्सु र रातिको समयमा सवारी साधन स्पष्ट नदेखिँदा दुर्घटना हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँसेपछि परबाटै लाइट पर्दा टक्लने हुँदा दुर्घटनामा कमी हुने र टल्किएर परबाटै प्रस्ट देखिने हुनाले सवारीसाधन र बिभिन्न स्थानमा ‘रिफ्लेक्टर स्टिकर’ राख्दा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रहरीको बुझाई रहेको छ ।

सडकमा छाडिएका चौपायाको घाँटी, सडकबिच भागमा राखिएको डिभाइडर, साइकलको पछाडिको भाग र अन्य सवारीसाधनको पछाडिको भागमा टल्कने ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने, पैदल यात्रुलाई सडक छेउबाट हिँड्न लगाउने जस्ता अभियान थालेको जिल्ला ट्राफिक प्रहरी बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय