बाराको निजगढ नगरपालिका वडा नम्बर १ का एक बृद्धको रुखबाट खसेर मृत्यु भएको छ।

निजगढ नगरपालिकामा सडक हेरालुका रुपमा कार्यरत पुर्णप्रसाद तिमल्सिनाको रौतहट जिल्लाको धन्सार खोला नजिकै जंगलमा रुखबाट खसेर ज्यान गएको हो ।

६५ वर्षिय तिमल्सिना विहिबार अपरान्ह ३ बजेतिर बाख्रालाई घाँस लिन भन्दै जंगल गएका छिमेकी राधाकृष्ण सापकोटाले बताए ।

सापकोटाका अनुसार उनि बिहिवार दिउँसो गाउँका एकजनाको अन्त्यष्टी कार्यमा सहभागी हुन घाटसम्म पुगेर फर्केका थिए।” मलामीबाट २ बजे तिर घर फर्केका तिमल्सिना बाख्रालाई घाँस लिन भनी एक्लै जंगल गएछन् । राती अबेरसम्म पनि घर नआएपछी आज बिहान खोजतलास गर्दा रुखबाट खसेर मृत्यु भएको अवस्थामा फेला परे।”

स्थानियले उनको साथमा कोही भईदिएको भए बाँच्नसक्ने अनुमान गरेका छन्। करिब २० मिटर उचाईबाट खसेका तिमल्सिना बजारिएको स्थानबाट ३ मिटर जति पर कोल्टे घोप्टो अवस्थामा मृत फेला परेका स्थानियले बताएका छन्। उनी बिरालीको लहरा भएको टिकुलीकरमको रुखबाट खसेका थिए।

तिमल्सिना २०७३ सालदेखी नगरपालिका मातहत ज्यालादारीमा सडक हेरालुका रुपमा काम गर्दै आएका थिए। नगरपालिकाका सव ईन्जिनियर नवीन खनालले उनको शव पोष्ट्मार्टमका लागी चन्द्रपुर अस्पताल पठाईएको बताए। न्यून आर्थिक अवस्था भएका तिमल्सिनाका परिवारलाई रोजगारी दिलाउने बिषयमा नगरपालिकामा छलफल चलेको पनि खनालले बताए।

तिमल्सिना निजगढ-सिँगौल सडकखण्डमा दिनहुँजसो सडक किनारका झाडी सरसफाई गर्दै गरेका भेटिन्थे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय