
निजगढस्थित पूर्वश्चिम राजमार्गको बकैया पुलको ड्याम कटान गरेर बस्तितर्फ बाढी पस्ने खतरा बढेपछि सुरक्षाकर्मीको सहयोगमा निजगढ नगरपालिकाले रोकथाम प्रयास शुरु गरेको छ ।
२ दिनदेखिको अवविरल वर्षापछि बकैया खोलामा हिजो आएको बाढीले पुल सुरक्षाको लागि सडक विभागले निजगढ ८ को खयरघारीमा निर्माण गरेको तटबन्ध कटान गरेर बस्तितर्फ पस्ने खतरा बढेपछि नेपाली सेनासहित सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणको प्रयास थालिएको हो ।
बकैया खोलाको धार परिवर्तन गरेर पुलको तटबन्धसहित बस्ति सुरक्षित पार्न निजगढ नगरपालिकाले केही समयअघि गरेको प्रयास सडक कार्यालयको उदासिनताले सफल हुन नसकेपछि निजगढमा बाढीको त्रास बढेको निजगढ नगरपालिकाका प्रमुख सरथ पुरीले बताए ।
बाढीको अवस्था निरीक्षण गर्न निजगढ आएका जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने नदी च्यानलाईज गरेर कटान नियन्त्रण निर्देशन दिएका छन ।
त्यसैगरी डिभिजन सडक कार्यालय हेटौडाका प्रमुख इन्जिनियर राजेश यादवले बजेट अभावमा च्यानलाइजको काम गर्न नसकिएको बताए ।
सुरक्षाकर्मीको टोलीले बाढी र कटान नियन्त्रणको लागि ड्याममा नाइलुनको जालीमा ढुङ्गा, गिटी, बालुवाको बोरा भरेर हिजो दिनभरी नै रोकथाम प्रयास गरेको थियो । ज्वाला दल गण कलैया, सशस्त्र र इलाका प्रहरी कार्यालय निजगढको करिव ८०÷९० जनाको सुरक्षाकर्मी टोली बाढीले भत्काएको ड्याम मर्मतमा परिचालन गरिएको हो ।
बाढी नियन्त्रणको लागि निजगढ नगरपालिका र डिभिजन सडक कार्यालय हेटौडाको एक्साभेटर प्रयोग गरेर नदीको धार परिवर्तन गर्न मंगलवार राति पनि काम भएको थियो । खोलाको मुख्य भङ्गालो ठोक्किएपछि ड्याम कटानमा परेको र बकैयाको बाढी बस्तिमा पस्नसक्ने खतरा बढेको हो ।