
जिल्ला प्रशासन कार्यालय कलैयाले निजगढ क्याम्पसको आज हुने भनिएको चुनावी साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले क्याम्पसलाई पत्र पठाएर सहमतिको आधारमा ७ दिनभित्र अर्को मिति तोकेर साधारण सभा आयोजना गर्न भनेको हो ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले हस्ताक्षर गरेर पठाएको पत्रमा निजगढका विभिन्न राजनीतिक दलसमेतबाट दर्ता हुन आएको ज्ञापन पत्रको आधारमा निजगढ नगरपालिका, नगरपालिकास्थित सबै राजनीतिक दल, बुद्धिजीवी, भद्रभलादमी र क्याम्पसका अभिभावकहरुको उपस्थितिमा छलफल गरी साधारण सभाको नया मिति तय गर्नुहुन अनुरोध गर्दछु भनिएको छ ।
यसअघि मंगलबारनै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरुले क्याम्पसको नियमावली अलोकतान्त्रिक रहेको भन्दै नियमावली परिवर्तन गरेर मात्रै साधारण सभाको आयोजना हुनुपर्ने माग गर्दैं जिल्ला प्रसाशन कार्यालय बारामा ज्ञापन पत्र बुझाएका थिए ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले राजनीतिक दलका प्रतिनिधिहरुको मागअनुसार क्याम्पसको साधारण सभा रोक्न निर्देशन दिएको हो ।
यता, क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले साधारण सभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालयबाट आएको पत्र क्याम्पसको नियमावली विपरित भएको बताए । उनले विधान अनुरुप आयोजना गर्न लागिएको रोक्नुपर्ने कुनै कारण नभएको पनि जानकारी दिए ।