निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा अवस्थित शक्तेश्वर झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
यस वर्ष सो क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको हो ।
मुख्यतया गर्मी याममा झरनाको दृश्यावलोकन र स्नान गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।
निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले गर्मी सुरु भएसँगै झरना हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको बताए । उनले शनिवार र सार्वजनिक विदाको दिनमा झरना क्षेत्रमा भ्रमण गर्न सरदर ५ सयको संख्यामा मानिसहरु आउने गरेको जानकारी दिए ।
शक्तेश्वरमा नयाँ वर्ष २०८० को पहिलो दिनदेखि नै अन्तरिक पर्यटकको आगमन बढेको हो ।
गत वर्षभन्दा यस वर्ष नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या वृद्धि भएको वडा अध्यक्ष घलानको भनाइ छ ।
पर्यटकहरुको थप आकर्षणको लागि वडा कार्यालयले उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा समेत चासो दिएर काम गर्दैआएको छ । कार्यालयले झरना क्षेत्रसम्म पुग्ने सडकको कालोपत्रे, सार्वजनिक शौचालय निर्माणलगायतका संचरना तयार गरेको हो ।
वडा कार्यालयले उक्त क्षेत्रको चौतर्फी विकासको लागि डिपीअर तयार गरेर मधेस प्रदेश सरकार समक्ष पेश समेत गरेको वडा अध्यक्ष घलानले जानकारी दिए ।
सो क्षेत्रमा मधेस प्रदेशकै अकर्षक झर्ना, शिवको मन्दिर, हनुमानको मुर्ति र देवघाट पोखरीलगायत अकर्षक स्थलहरु रहेको र उक्त क्षेत्रलाई मधेस प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने संभावना गरेको उहाँको भनाइ छ ।
निजगढबाट उत्तरपश्चिम दिशामा पर्ने सो झरणा निजगढस्थित पूर्वपश्चिम राजमार्गको तामागढीबाट करिव १८ किमी दुरीमा रहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगन्ज–चकरी सडक र निजगढ–रतनपुरी–डम्बरपुरको पक्की सडक प्रयोग गरेर पनि उक्र क्षेत्रमा पुग्न सकिन्छ ।