
सप्तरीमा प्रहरी र लकडाउन उल्लंघन गर्नेहरुबीच चर्को विवादपछि भएको भागदौडमा एक महिलाको मृत्यु भएको छ ।
खड्क नगरपालिका-६ वीरपुरमा सोमबार बिहान प्रहरीले बस्तीमा देखिएको भीडभाड हटाउने क्रममा भएको विवादका क्रममा ६५ की जैनव खातुन (पुजर्नी) सडकमै बेहोस भएर ढलेकी थिइन्। खातुनलाई स्थानीय एडभान्स अस्पताल कल्याणपुरमा सामान्य उपचारपछि सगरमाथा अञ्चल अस्पताल राजविराज पुर्याइएकोमा करिब १२ बजे ज्यान गएको थियो। ईलाका प्रहरी कार्यालय कल्याणपुरले मृतक महिला उच्च रक्तचापका कारण ढलेर बेहोस भएको जनाएको छ। तर, स्थानीयले प्रहरीको लाठीचार्जबाट ती महिलाको ज्यान गएको आरोप लगाएका छन् ।
वडा सदस्य मोहम्मद इक्वालका अनुसार प्रहरीले त्यहाँ रहेका ७ जना जति सर्वसाधरणलाई लाठी प्रहार गर्न थालेपछि भागेको, त्यस क्रममा खातुन बेहोस् भएर ज्यान गएको बताए। उनले भने, ‘भीड देखेपछि प्रहरीले सबैलाई लखेट्यो। प्रहरीले लेखेट्ने क्रममा स्थानीय ६५ वर्षीया जैनव कुजर्नीको मृत्यु भयो।’ अहिले शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको छ।
प्रहरीले महिलाहरुलाई समेत लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। मृतक पुजर्नीकी बुहारी चुन्नी खातुन र स्थानीय कबुलन खातुन घाइते भएका छन्। उनीहरु दुवैको कल्याणपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तीलक भारती , खडग नगरपालिपकाका मेयर हेमायु हकसहित वीरपुरामा भेला भएका छन्।
जिल्ला प्रहरीका डीएसपी भारतीले घटनाबारे बुझिरहेको बताए।