
नेपाल–भारत सीमानाकाबाट अवैध आवतजावत रोक्न सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरीसँग सोमबार सिराहाको सोहर्वामा भारतीय नागरिकसँग झडप भएको छ ।
सिराहा नगरपालिका– १९ सोहर्वामा सोमबार बिहान दूध लिएर नेपालतर्फ प्रवेश गर्न खोजेका एक भारतीयलाई सशस्त्र प्रहरीले रोकेपछि झडप भएको हो । सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलका अनुसार सोमबार बिहान ११ बजेतिर आएको करिब २०–२५ जनाको समूहले सीमापारिबाट ढुंगा हान्न थालेपछि झडप भएको हो ।
सशस्त्र प्रहरीले रोक्ने क्रममा निधारमा ढुंगा लागेर सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी घाइते भएका छन् । घाइते जवान चौधरीको निधारमा तीनवटा टाँका लागेको र अवस्था सामान्य रहेको सिराहा अस्पतालले जनाएको छ ।
आफ्नो बाबुलाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुंगा हान्न लगाएका थिए । सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट इँटाटारका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र रोकाका अनुसार अहिले सीमा क्षेत्रको अवस्था सामान्य रहेको छ । झडपलगत्तै सशस्त्र प्रहरीले सीमापारि कुमरखत गाउँका जनप्रतिनिधि, भारतीय सुरक्षा निकायसँग कुराकानी गरेपछि सीमाको अवस्था सामान्य रहेको उनले बताए ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन गत ११ चैतदेखि जारी लकडाउन र सीमानाका बन्द भएको अवस्थामा भारतसँग सीमा जोडिएका सिराहाका विभिन्न ३४ नाकाबाट हुन सक्ने आवतजावत रोक्न सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीले अवैध आवतजावत रोक्न सिराहाको सीमावर्ती ठाढी, नवराजपुर, बरियारपट्टि, इँटाटार, लगडिगदियानी र माडरको बोर्डर आउटपोस्टबाहेक २८ ठाउँमा ड्युटी पोस्ट सञ्चालन गरी गस्ती गरिरहेको छ ।