आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरका ४३ वर्षिय सनी लामालाई ७१ बर्षिय आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको हो ।
कान्छिमायाको हत्यापछि गाउँ छोडेर भागेका सनीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १ स्वर्गद्वारीस्थित आफन्तको घरबाट मंगलवार राति नियन्त्रणमा लिएको प्रहरी निरीक्षक संन्जिव ओलीले जानकारी दिए ।
३-४ दिनदेखि घरबाट बेपत्ता बनेकी कान्छिमायाको शव स्थानीयले मंगलवार दिउसो घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेपछि प्रहरीमा खबर गरेका थिए । शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
घटनापछि छोरा सनी पनि गाउँबाट बेपत्ता बनेको र अनुसन्धानको क्रममा उनलाई नियन्त्रण लिएको प्रहरीले बताएको छ । सढेर कुहिएको अवस्थामा रहेको शवको प्रकृति हेर्दा ५-७ दिनअघि नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल कलैया पठाइएको र घटनाको थप अनुसन्धान भइरहको निरीक्षक ओलीले जानकारी दिए । पक्राउ परेका लामालाई प्रहरीले जिल्ला अदालत बारामा पेस गरेर अनुसन्धानको लागि म्याद लिएको छ ।
मृतक घलानको श्रीमानसहित २ छोरा छन । श्रीमान र जेठो छोरा जिल्लाकै जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा बस्न थालेपछि घलान कान्छो छोरा सनीसंग बस्दै आएकी थिइन ।