
चालू आर्थिक वर्षको लागि निजगढ नगरपालिकाले आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न सकेन । नगरपालिकाले ठेक्का साकार गर्न आह्वान गरेको मितिभित्र कसैले पनि बोलकबोल नगरेपछि ठेक्का लाग्न नसकेको हो ।
आर्थिक वर्ष ०७९÷०८० को लागि नगरपालिकाले गत पुष २४ गते ३० दिनको समयसीमा राखेर इ–बिडिङ्गमार्फत ठेक्काको लागि बोलपत्र आह्वान गरेको थियो । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बुधवारबाट ठेक्का सकार गर्ने मिति सकिएको छ ।
नगरपालिका कार्यालयले बकैया, धन्सार, शक्ति र लाल खोलाबाट १ करोड ५६ लाख १४ हजार घनफिट गिटी, बालुवा र ढुङ्ग उत्खनन, संकलन तथा बिक्री गर्नको लागि न्यूनतम १२ करोड ४९ लाखमा ठेक्का आह्वान गरेको थियो ।
नदीजन्य पदार्थ उत्खनन विरुद्ध उच्च अदालत वीरगन्जले जारी गरेको निषेधाज्ञा आदेशका कारण यो वर्षको लागि समयमा नै ठेक्का आह्वान गर्न नसकेको निजगढ नगरपालिकाले रिट निवेदन खारेज भएपछि टेण्डर आह्वान गरेको थियो ।
तर गृहमन्त्रालयमार्फत नदीजन्य पदार्थ उत्खनन र क्रसर उद्योग संचालनमा गत महिना केही समय रोक लगाइएपछि निजगढ नगरपालिकको नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रभावित बनेको हो । मन्त्रालयको परिपत्र अनुसार एक महिनाअघि केही समयको लागि बन्द गरिएका देशभरीका क्रसर उद्योग र बालुवा वासिङ्ग प्लान्ट हाल खुल्ला गर्ने निर्णय भएपनि निजगढ क्षेत्रका उद्योगहरु भने अहिलेसम्म पनि संचलनमा आउन सकेका छैनन ।
उद्योगमा जडान गरिएको बिजुली बत्ति अझै जडान हुन नसक्दा निजगढका उद्योगहरु संचालनमा आउन नसकेका हुन । नगरपालिका कार्यालयले भने आवश्यक प्रक्रिया पुरा गरेर फेरि ठेक्का आह्वान गरिने बताएको छ ।