निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जेनेटर मेसिन नहँदा उपचारको लागि आएका बिरामीहरुले सास्ति बेहोर्नु परेको छ । आधुनिक ल्याब र अन्य उपचार सेवासमेत उपलब्ध रहेको अस्पतालमा एक्स्रे मेसिन नहुँदा उपचार सेवा नै प्रभावित हुदै आएको हो ।
बिजुली बत्तिको लाइन गएको बेला भिडियो एक्स्रे र अन्य मेसिन संचालन नभएर बिरामीहरुले समस्या बेहोर्नुपरेको निजगढ ५ का गोविन्द गौतमले बताए । एक्स्रे गर्न भनेर अस्पतालमा गएको बखत लाइन गएपछि आफूहरु घण्टौंसम्म कुरेर बस्नुपरेको गौतमको भनाइ छ ।
यता निजगढ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाले जेनेटरको अभावमा बिजुली बत्ति काटिएको बेला बिरामीको निदान र उपचारमा केही समस्या आउने गरेको बताए । उनले ल्याब र अन्य उपकरण संचालनको लागि इन्भर्टरको प्रयोग हुदै आएको भएपनि एक्स्रे मेसिन संचालनको भने हाइ भोल्टेज नै आवश्यक पर्ने बताए । उनले अस्पतालमा जेनेटर मेसिनको अभावले उपचारमा केही प्रभाव पर्ने गरेको बताए ।
स्वास्थ्य शाखा प्रमुख लामाले शुरुदेखि नै अस्पतालमा जेनेटर व्यवस्था नभएको र त्यसको लागि नगरपालिका कार्यालयमा माग गरिएको पनि जानकारी दिए ।
निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष एंव अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कटुवालले जेनेटर मेसिनको व्यवस्था मिलाउन आफूहरुले कार्यपालिकाको बैठकमा माग गर्ने जानकारी दिए ।