
निजगढ नगरपालिकाको सिंगौलस्थित शहरी स्वास्थ्य क्लिनिक लामो समयदेखि इन्चार्जविहिन अवस्थामा संचालन हुँदा सेवा प्रभावित बन्दै आएको छ । निजगढ वडा नम्बर ३ मा रहेको स्वास्थ्य क्लिनिक गत बैशाख महिनादेखि इन्चार्जविहिन अवस्था सञ्चालान हुदै आएको हो ।
सो क्लिनिकका तत्कालिन इन्चार्ज उमेश गुरोले राजिनामा दिएपछि पदपूर्ति हुन सकेको छैन । हाल सो शहरी स्वास्थ्य क्लिनिक एकजना अनमी र एकजना कार्यालय सहयोगीको भरमा सञ्चालन हुदैआएको छ ।
पर्याप्त स्वास्थ्यकर्मी अभावमा प्रभावकारी सेवा संचालन गर्न समस्या भएको भएपनि उपलब्ध स्रोत साधनबाट क्लिनिकमा सेवा सुचारु हुदै आएको अनमी लक्ष्मी लामिछानेको भनाइ छ । इन्चार्ज नहुँदा पनि आफूले स्थानीयलाई सेवा प्रदान गरिरहेको बताईन ।
तर क्लिनिकमा इन्चार्ज नहुँदा सेवा प्रभावकारी नभएको र उपचारमा आएका बिरामीहरु मार्कामा परेको स्थानीय कल्पना जिम्बाले भनिन् ।
क्लिनिकको इन्चार्ज गुरो राजिनामा दिएर गत स्थानीय निर्वाचनमा निजगढ १ को वडा अध्यक्ष पदमा उम्मेदवार भएबाट उक्त पद हालसम्म पनि रिक्त छ ।