बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली र क्षेत्र नम्बर १ (२) मा जसपा नेपालका उम्मेदवार सरोज यादवले बुधवार पनि सिम्रौनगढ नगरपालिकामा चुनावी घरदैलो कार्यक्रमलाई जारी राखेका छन ।
नेकपा एमाले र जसपाका कार्यकर्तासहित उम्मेदवार मैनाली र यादवले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ र ७ को जानकीनगर झमानी, कवलपुर, पर्सा, सतुवाही, अम्मरपुर, सल्यमपुर र सिम्रौनगढ बजारमा मतदाता भेटघाट तथा चुनावी घरदैलो गरेका हुन । घरदैलोको क्रममा भेटिएका सर्वसाधारण मतदाताले दुबै उम्मेदवारहरुलाई फूलगुच्छाले स्वागत गरेका थिए ।
घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य अच्युत मैनालीले आफू निर्वाचित बनेपछि क्षेत्रको विकासमा नमूना काम गरेर देखाउने बताउनुभएको छ । उहाँले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको भन्दै आफूले विकासको नमूना काम गरेर देखाउने बताउनुभएको हो । ‘सिम्रौनगढ क्षेत्रलाई १७ वर्षसम्म विकासमा पछि पारियो, मैनालीले भन्नुभयो, अब हामी निर्वाचित बनेपछि उनीहरु नै लज्जित हुने गरी काम गर्ने छौं ।’
आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर चुनाव लडेका एमाले र जसपाका उम्मेदवारले क्षेत्र नम्बर १ को प्रदेश (२) का पालिकाबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन ।
प्रदेश (क) मा भन्दा तुलनात्मक रुपमा केही कमजोर मानिएको एमाले जसपासंगको चुनावी तालमेलपछि निक्कै सुदृढ देखिएको छ । सो क्षेत्रमा सिम्रौनगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिका रहेका छन । दुबै पालिका जसपाका उम्मेदवार यादवको प्रभाव क्षेत्र पनि मानिन्छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनको तुलनामा एमालेको प्रभाव पनि वृद्धि हुदै आएको छ ।
०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेशका उमाकान्त चौधरीसंग करिव ५ हजार मतले पछि पर्नुभएका एमाले उम्मेदवार मैनालीले जसपासंगको तालमेलपछि चौधरीलाई ठूलो मतान्तरमा पछि पार्ने देखिएको छ ।
घरदैलो कार्यक्रममा सहभागी जसपा र एमालेका कार्यकर्ताहरुले प्रदेश सभा (२) बाट गठबन्धनका उम्मेदवार चौधरीको भन्दा मैनाली र यादवलाई करिव १० हजार बढी मता प्राप्त हुने बताएका छन ।
जसपा र एमालेको तालमेलसंगै कांग्रेस सहमहामन्त्री समेत रहनुभएका खानेपानीमन्त्री चौधरीप्रति सर्वसाधारणमा बढेको असन्तुष्टिले पनि यस पटकको निर्वाचनमा मैनाली र यादवको पक्षमा जनमत आकर्षित बनेको हो । ३ पटकसम्म चुनाव जितेर संघीय सरकारको पटक पटक मन्त्री समेत बन्नुभएका चौधरीले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको भन्दै मतदातामा असन्तुष्टि चुलिएको छ ।