निजगढका नगरपालिका वडा नम्बर १३ डम्बरपुर स्थितशक्ति गुफा र झरनाको अवलोकन गर्न आउनेको संख्यमा वृद्धि भएको छ । चुरेक्षेत्रको काखमा अवस्थित शक्ति गुफा र झरनालाई गन्तव्य बनाएर आन्तरिक पर्यटक आउने क्रम बढेको हो ।
विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्दैै शक्ति गुफा र झरनाको अवलोकनमा आउन थालेका हुन । शक्ति गुफा र झरनामा दशैँ बिदालाई उपयोग गर्दै पारिवारिक भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको चहलपहल यसपाली निकै बढेको छ थियो ।
‘कोभिड–१९ संक्रमणपछि ठप्प जस्तै भएका उक्त क्षेत्रमा अहिले आन्तरिक पर्यटक विस्तारै भ्रमणमा निस्कने थालेका छन्। कोही परिवारसँग आउने गरेका छन् भने कतिपय साथीभाइसँग यहाँ आउने गरेका निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले बताए ।
आन्तरिक पर्यटकको यकिन तथ्याङ्क नभए पनि विगतमा भन्दा उल्लेख्य संख्यामा पर्यटक घुम्न आउन थालेको अध्यक्ष घलानको भनाई छ ।
करिब ३ वर्ष कोभिड–१९ का कारण घरभित्र बसेका आन्तरिक पर्यटकहरु योजना सहित भ्रमणमा आउन थालेका हुन् । विसं २०७६ चैतदेखि नेपालका सबै क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक शून्य थियो ।
कोभिड–१९ का कारण असर नपरेको कुनै क्षेत्र वा पेसा व्यवसाय छैन । सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेको देखिन्छ । अहिले आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ ।
अहिले पर्यटक शक्ति गुफा झरना हेर्न आउने समय अनुकूल छ किनकि वर्षा पनि करिब सकिएको र झरना पनि सुहाउदोे रहेकोले आन्तरिक पर्यटकलाई भ्रमणमा सहज हुने देखिन्छ ।
यस गुफा र झरनामा आउनेको तथ्याङ्क संकलन भने राखिएको छैन । तर पनि वर्षेनी ३० हजार आन्तरिक पर्यटक पुग्ने अनुमान गरिएको छ ।