निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सुके पोखरी ताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न निजगढ नगरपालिकाले सहयोग गर्ने बताएका छन । सुकेपोखरी संरक्षण अभियानले संचालन गरिरहेको सरसफाइ अभियानको निरीक्षण गर्न शनिबार सुकेपोखरी पुगेका नगर प्रमुख पुरीले सो कुरा बताएका हुन ।

संरक्षण अभियानअन्तर्गत स्थानीयले विगत ३ महिनादेखि श्रमदानमार्फत पोखरी डिलको झाडी सरसफाइ गर्दै आएका छन । झाडी सरसफाइमा स्थानीयसंगै नगर प्रमुख पुरीले पनि श्रमदान गरेका थिए ।

नगर प्रमुख पुरीले तालको सरसफाइ र संरक्षणमा स्थानीयले गर्दै आएको श्रमदान प्रशंसनीय र अनुकरणी भएको पनि बताए । ‘स्थानीयले गर्दै आएको कार्य प्रशसनीय छ, उनले भने, यसबाट अन्यलाई समेत विकासको काममा श्रमदान गर्ने प्रेरणा मिल्ने छ ।’

पोखरीको संरक्षण गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने पनि नगरप्रमुख पुरीले बताए । उनले भने, ‘सुकेपोखरीसंगै सिगौंलको सितल छहारी भरना र नगरका अन्य पर्यटकीय स्थलको पनि संरक्षण र विकास गरेर निजगढलाई आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बनाउनुपर्छ ।’ नगर प्रमुख पुरीले निजगढमा प्रचुर पर्यटकीय शंभावना रहेको र यसको समुचित विकास गर्नु पर्ने पनि बताए ।

निजगढ नगरपालिका वडा नम्बर‐ १ सिगौलका अभियान्ता सर्जु थापाको अगुवाइमा सुके पोखरीको सरसफाइ र संरक्षण अभियान सुरु भएको हो । थापाको नेतृत्वमा स्थानीयले प्रत्यक शनिबार तालको सरसफाइसंगै वृक्षारोपण र पोखरीको डिलमा रहेको झाडी सरसफाइ कार्य गदै आएका छन । संरक्षणसहित पूर्वाधारहरुको निर्माण गर्न सके सुके पोखरीलाई बारा जिल्लाकै आन्तरिक तथा वाह्य पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास गर्न सकिने अभियन्ता थापाको पनि भनाइ छ ।

सुकेपोखरी संरक्षण अभियानले संचालन गरिरहेको सरसफाइ अभियानको निरीक्षण गर्न नगरप्रमुख पुरी सहित निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बाहादुर लामा, वडा नम्बर ६ का घनश्याम तिमल्सिना, वडा नम्बर २ का राजु श्रेष्ठ लगायतले आज एक्यवद्धता जनाउदै अभियानमा सहभागिता जनाएका हुन ।

निजगढ–सिगौंल सडकखण्ड अन्तर्गत राष्ट्रिय वन क्षेत्रभित्र पर्ने सो पोखरी करिव १० बिगाहा क्षेत्रमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय