निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन गर्न विफल बनेपछि स्थागित भएको छ । विद्यालय व्यवस्थापन समिति गठनको लागि बिहीवार आयोजना गरिएको अभिभावक भेला समिति गठन गर्न विफल बनेपछि आगामी आइतवार सम्मको लागि स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले जानकारी दिए ।

व्यवस्थापन समितिमा अभिभावकहरुबाट चयन गरिने २ जना महिलासहित ४ जना सदस्य पदको लागि ४५ जनाले आकांक्षा देखाएपछि सहमति हुन नसकेको हो । २ जना महिला सदस्यको लागि भने सरिता राई र प्रमिला पराजुली नेपालको नाममा भेलामा सहमति बनेको थियो । तर पुरुष आकांक्षीहरुबीच सहमति हुन सकेको थिएन ।

सबै आकांक्षहरुलाई एकै ठाउँमा राखेर सहमति कायम गर्ने प्रयास गरिएको भए पनि अधिकांशले आफ्नो दाबी नछोडेपछि समिति गठन हुन नसकेको अभिभावक थानेश्वर सापकोटाले जानकारी दिए । सर्वसहमतिमा समिति गठन गर्ने उद्देश्यले भेला स्थगित गरिएको उनले बताए ।

४५ जना आकांक्षीबीच फेरि छलफल गरेर निर्णय गर्ने गरी आइतवार दिउसो १ बजेको लागि अर्को भेला आयोजना गरिने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समिति गठनको लागि यसअघि बोलाइएको भेलापनि कुनै निर्णयमा पुग्न नसकेपछि स्थगित हुदै आएको थियो । स्थानीय राजनीतिक दल र अभिभावकहरुबीच सहमति हुन नसक्दा २ वर्षदेखि व्यवस्थापन समिति रिक्त रहदै आएको छ । व्यवस्थापन समितिको अभावमा विद्यालयको भौतिक निर्माण लगायत अन्य कार्यक्रमहरु प्रभावित हुदै आएको छ ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न विघालय नै बिदा

गौरीशंकर माध्यमिक विद्यालयको अभिभावक भेलाका कारण पटक पटक विद्यालयको पठनपाठन बन्द भएको छ । विद्यालयको अभिभावक भेलाका कारण विद्यालयको बिहानी कक्षा संचालन भएपनि दिउसो १ बजोबाट पठनपाठन भने बन्द भएको हो ।

विद्यालयको शैक्षिक स्थिती विभिन्न वहानामा दिनप्रतिदिन खस्किदै गएको अवस्था छ एक अभिमावकले भने, “कुनै पनि बहानामा विद्यालय बन्द गनुहुदैन त्यसमा पनि विद्यालयको पठन पाठन आन्तरिक विवादका कारण अवरुद्ध हुनु अत्यन्त दुःखदायी हो ।”

विद्यालय व्यवस्थापन समिति गठन गर्न पठनपाठन अवरोध गरेर समस्याको समाधान खोज्नु कतिको न्यायोचित हो ? यो एउटा गम्भिर प्रश्न खडा भएको छ ।

बालबालिकाको पढ्ने अधिकारलाई नै बन्धक राखी गरिएको विद्यालय व्यवस्थापन समिति गठनको प्रयासले समस्याको समाधान हुन्छ त ! पक्कै पनि हुँदैन् । तसर्थ सम्बन्धीत पक्षले बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चितता गर्न विद्यालय व्यवस्थापन समिति गठनको समय परिवर्तन गर्नु आवश्यक छ भने विद्यालयमा हुने पठनपाठन भविष्यमा अवरोध नगर्ने प्रतिबद्धता जाहेर गर्नु पनि उत्तिकै जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय