
निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव सुमन धिताल बुधबार कार्यालयमा हाजिरी भएका छन । प्रमुख प्रशासकीय अधिकृत धिताललाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटासहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषयलाई लिएर नगरपालिकाको कार्यालय करिब एक महिनादेखी कार्यालय प्रमुख विहिनताको अवस्थामा रहेको थियो । यसअघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका सुमन कुमार कार्कीले मन्त्रालयको सरुवा निर्णय उल्टाउदै पुनः थमौती पत्र लिएपछि नगरपालिकामा विवाद बढ्दै गएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई जिल्लाको पचरौता नगरपालिका सरुवा गर्दै मकवानपुरस्थित थाहा नगरपालिकामा कार्यरत हरिलाल पुरीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । मन्त्रालयको निर्णयसंगै साउन १३ गते पुरी निजगढमा हाजिर भएका थिए । तर सरुवा निर्णयले असन्तुष्ट कार्कीले राजनीतिक शक्ति प्रयोग गर्दै मन्त्रालयको निर्णय उल्टाएर केही दिनमा पुनः निजगढकै लागि थमौती लिएपछि विवाद चुलिन पुगेको थियो ।
पटकपटक मन्त्रालयको सरुवा रोकेका कारण विवादित बनेका कार्कीले चौथो पटकको सरुवा निर्णयलाई उल्टाएपछि नगर प्रमुख सुरथ पुरीले उनलाई हाजिर गर्न दिएनन् र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नखोल्न निर्देशन दिएका थिए । मन्त्रालयको निर्णयअनुसार पुरीले हाजिर गरिसकेको अवस्थामा अर्को प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिन नमिल्ने भन्दै नगर प्रमुख पुरीले अडान लिएपछि नगरपालिकामा तालाबन्दीको स्थिती समेत भएको थियो ।
पुरीले कार्कीलाई हाजिर गर्न नदिने अडान नछाडेपछि गबन्धनबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख पुरी र उपप्रमुख सोममाया थिङको कार्यकक्षमै तालाबन्दी समेत गरेका थिए । तर नगर प्रमुख पुरीले भने मन्त्रालयले आफ्नै निर्णय कार्यान्यवन नगरेर केही दिनमै सरुवा निर्णय उल्टाएको र नगरपालिकालाई अस्थिर बनाउन खोजेको भन्दै निर्णय सच्याउन मन्त्रालयलाई ध्यानाकर्षण गराउदै आएका थिए ।
दुई वर्षदेखी कार्यरत कार्कीलाई पुनः हाजिर गराए नगरपालिकामा जनप्रतिनिधिबीचनै मनमुटाव हुने स्थिती देखेपछि नगर प्रमुख पुरीले निर्णय सच्याउन मन्त्रालयलाई अनुरोध गर्दै आएका थिए । यता कार्कीले भने पुनः हाजिर गर्ने वातावरण बनाउनका लागि गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधि र केही कर्मचारी समेत प्रयोग गरेका थिए ।