संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुमन धिताललाई पठाएको छ ।

मन्त्रालयले भाद्र १ गतेको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत उपसचिव धिताललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी निजगढ खटाएको हो । मन्त्रालयको आधिकारिक वेभसाइडमा धितालको निजगढ सरुवा बारे जानकारी गराएको भए पनि नगरपालिका कार्यालयमा भने अहिलेसम्म आधिकारिक रुपमा जानकारी पत्र प्राप्त नभएको कार्यालयका निमित्त प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाले बताए ।

पछिल्लो पटक मन्त्रालयको निर्णय उल्टाउदै सरुवा थमौति गरेर निजगढमा नै फर्किने प्रयासमा रहेका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की भने मन्त्रालयमा नै तानिएका छन । गत साउन ११ गते सचिव स्तरीय निर्णयबाट बाराको पचरौता नगरपालिकामा सरुवा भएका कार्कीलाई अघिल्लो निर्णय उल्टाउदै मन्त्रालयले ४ दिनपछि निजगढमा थमौति गरेको थियो ।

निजगढबाट कार्कीको सरुवा भएपछि मन्त्रालयले मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई निजगढमा खटाएको थियो । कार्कीलाई निजगढमा थमौति गर्ने मन्त्रालयको निर्णय विरुद्ध नगर प्रमुख सुरत पुरीले अधिकृतको कार्यकक्षमा तालबान्दी गरेर उनलाई हाजिरी नगराउने अडान राखेपछि कार्यपालिकाका बहुमत सदस्य र नगर प्रमुख पुरीबीच विवाद उत्पन्न भएको थियो । कार्कीको पक्षमा रहेका कार्यपालिका सदस्यहरुले पनि नगर प्रमुख पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षमा तालाबन्दी गरेपछि नगरपालिकको कामकाज २ सातासम्म ठप्प बनेको थियो ।

यसैक्रममा नगर प्रमुख पुरी र उपप्रमुख थिङ्ग काठमाण्डौंमा पुगेर कार्कीको सरुवा थमौति रद्द गर्न दवाव दिएपछि मन्त्रालयले पछिल्लो पटक धिताललाई निजगढ पठाएको हो । यसअघि निजगढ सरुवा भएका हरीलाल पुरीको भने रौतहटको चन्द्रपुर नगरपालिकामा सरुवा भएको छ । अधिकृत कार्कीले सरुवा थमौतिसंगै यसअघि निजगढ सरुवा भएका पुरी मन्त्रालयमा तानिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय