
निजगढ नगरपालिका क्षेत्रमा अवरुद्ध हुदै आएको विद्युत आपूर्तिलाई सुचारु र नियमित पार्न आज निजगढ नगरपलिकामा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीको विशेष पलहलमा भएको सो छलफल कार्यक्रममा विद्युत प्रधिकरण सिमरा वितरण केन्द्रका इन्जिनियर रामनारायण साह, सिमरा वितरण केन्द्रका उद्धव घिमिरे, निजगढ उपवितरण केन्द्रका प्रमुख नरेन्द्र मण्डल, उद्योग बाणिज्य संघ निजगढका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वडा अध्यक्षहरु मंगले लोप्चन, गोकुल तिमल्सिना, विशन सापकोटा, घनश्याम तिमल्सिना, टेकबहादुर लामा, रामचन्द्र कटुवाल, सूर्य घलानलगायत स्थानीय व्यवसायी र संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
भेलाले निजगढ क्षेत्रमा हाल भइरहेको विद्युत आपूर्तिको समस्य हल गर्न विद्युत प्राधिकरणले तत्कालिनरुपमा आन्तरिक व्यवस्थापनलाई चुस्त पर्ने, चपुर– निजगढको ३३ केभि प्रशारण लाईनमा ढलेका रुखहरुलाई तत्काल व्यवस्थापन गर्ने र लामो समयसम्म विद्युत अवरुद्ध हुने अवस्थामा उपभोक्ताहरुलाई जानकारी दिने निर्णय गरेको छ ।
त्यसैगरी निजगढको विद्युत आपूर्ति व्यवस्थालाई भरपर्दो र दीगो पार्न हाल चपुरबाट हुदै आएको आपूर्तिको विकल्पमा बाराको पिलुवा सबस्टेशनबाट मधुवन जाने सडकसम्म भुमिगत तार विछ्याएर निजगढमा विद्युत आपूर्तिको व्यवस्था मिलाउने तथा निर्माणधिन अवस्थामा रहेको ४०० केभि वा १३२ केभि प्रशारण लाइनबाट निजगढमा सबस्टेशन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा अनुरोध गर्ने निर्णय भएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।