लामो समयको लकडाउनका कारण कृषि उत्पादन खेर जान थालेको गुनासो सुनिएको छ । बजार बन्द भएकाले कतिपयले तरकारी खेतबारीमा कुहिन थालेको र दूध दुहेर गाईभैंसीलाई नै खुवाउन थालेको समाचार सार्वजनिक भएका छन् ।
तर, दाङको तुलसीपुरका दुग्ध उत्पादक किसानले भने खिर खानका लागि भन्दै सुरक्षाकर्मीलाई निःशुल्क १६० लिटर दूध दिएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरलाई ११० लिटर र सशस्त्र बेसक्याम्प तुलसीपुरलाई ५० लिटर दूध उपलब्ध गराएको दुग्ध उत्पादक संघ तुलसीपुर नगर अध्यक्ष लोकराज डाँगीले बताए ।
लकडाउनलाई कार्यान्वयन गराउन र शान्ति सुरक्षा दिन अहोरात्र खटिएकाले प्रहरीहरुलाई हौसला प्रदान गर्न तुलसीपुर उपमहानगरपालिकामार्फत् दूध उपलब्ध गराइएको डाँगीको भनाइ छ ।