निजगढ नगरपालिकामा पूर्वाधारयुक्त, सुविधा सम्पन्न र व्यवस्थित शहर निर्माण हुने भएको छ । निजगढ नगरपालिका कार्यालयमा सरोकारवालाहरु बीच भएको छलफल कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ र ८ मा पर्ने ८५ बिगाहा जमिनमा जग्गा एकीकरणमार्फत आधुनिक शहर निर्माण गर्न थप प्रकृया अघि बढाउने सहमति भएको हो ।
यसअघि गत फागुनमा शहर निर्माण गर्ने बारेमा नगरपालिकाका जनप्रतिनिधि, जग्गाधनी र सरोकारवालाहरुबीच शहर निर्माण गर्ने प्रारम्भिक सहमति भएको थियो ।
सोही सहमतिअनुसार आयोजनाको कन्सल्टेन्सी संस्था रेस इन्जिनियरिङ्गले दोस्रो चरणको छलफल कार्यक्रम आयोजना गरेको हो ।
निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा, वडा नम्बर ६ का पूर्ववडा अध्यक्ष कुशबहादुर थापा, स्थानीय जग्गाधनीहरु, नेकपा एमालेका उपाध्यक्ष भोलाप्रसाद गौतम, नेपाली कांग्रेसका ललितबहादुर राउत, नेकपा माओवादीका संतोष दङ्गाल, नेकपा एकीकृत समाजवादीका भिमसेन सापकोटा, लोसपाका मोजहर मन्सुर, राप्रपाका खडकप्रसाद उप्रेतीेसमेत सहभागिता रहेको थियो ।
कार्यक्रममा रेस इन्जिनियरिङ्गका इन्जिनियर राजेन्द्रमान श्रेष्ठ र अर्जुन कार्कीले आयोजनाको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा आयोजनाले तयार पारेको नमूना शहरको ३ वटा मोडेल बारे जानकारी गराइएको थियो ।
शहरी विकास मन्त्रालयको नयाँ शहर आयोजनाको सहयोगमा निजगढ नगरपालिका वडा नम्बर ६ मा पर्ने जंगली पैनीबाट पश्चिमको जमुना पैनीसम्म र सोही वडाको सडकटोलबाट पुरानो निजगढसम्म पुग्ने सडकबाट दक्षिण तथा वडा नम्बर ८ को रैयाटोलबाट निजगढ नगरपालिका वडा नम्बर ४ मजुवासम्म पुग्ने सडकको उत्तरमा पर्ने करिव ८५ बिगाहा क्षेत्रमा आधुनिक सहर निर्माण हुने निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
गत फागुन २३ गते निजगढ नगरपालिकाका जनप्रनिधिसहति स्थानीय जग्गाधनी बिच भएको छलफलमा शहर निर्माण गर्ने बारेमा पहिलो चरणको सहमति भएको थियो ।