बारा निजगढ नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० को लागि ९५ करोड ३ लाख ८ हजारको बजेट ल्याएको छ ।
निजगढ नगरपालिकाको १० औं नगरसभाबाट उपमेयर सोम माया थिङले पूर्वाधार विकास तर्फ ३९ करोड २६ लाख ७ हजार, आर्थिक विकास तर्फ ७ करोड ३५ लाख ४० हजार, सामाजिक विकास तर्फ ३० करोड ८६ लाख ५६ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ९५ लाख पाँच हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १६ करोड ६० लाखको बजेट प्रस्तुत गरेकी हुन् ।
उक्त बजेटको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक श्रोत ११ करोड ८७ लाख, प्रदेशराजस्व बाँडफाँडबाट ३२ करोड, प्रदेश सरकारको वित्तीय समानीकरणबाट ९० लाख, सङ्घीय सशर्त अनुदान२४ करोड ७२ लाख, संघीय वित्तीय समानीकरण १३ करोड ६६ लाख र संघीय राजस्व बाँडफाँडबाट रु. ११ करोड ८८ लाख ८० हजार प्राप्त हुने अनुमान गरिएको उपमेयर थिङले बताइन् ।
उपमेयर थिङले प्रस्तुत गरेको बजेटमा निजगढ नगरपालिका क्षेत्र भित्र रहेका आर्थिक रुपमा विपन्नका कारण शिक्षाको उज्यालो बाट बञ्चित बालबालिकाहरुको नगरपालिकाले अभिभाकत्व ग्रहण गरी शिक्षा प्रदान गर्ने आवश्यक ब्यवस्था गरिएको छ ।
त्यस्तै निजगढ नगरपालिकाले स्थापना गरी सञ्चालनमा उपप्रमुख महिला प्रजनन सेवालाई निजगढबाट निरन्तरता दिंदै सो सेवालाई रतनपुरी र सिंगौलबाट समेत प्रदान गरी थप बिस्तार र रुपान्तरण गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।