
निजगढ नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट सुरथ पुरी र उपमेयरमा सोम माया थिङले उम्मेदवारी दर्ता गराएका छन । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा पुरी र उपमेयरमा थिङले उम्मेदवारी दर्ता गराएका हुन । एमालेको तर्फबाट मेयर पदमा मनोनयन पत्र दर्ता गराएका पुरी नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष समेत हुन ।
त्यसैगरी गठबन्धनको तर्फबाट कांग्रेसका सुरेश खनालले उम्मेदवारी दर्ता गराएका छन। गठबन्धनले उपमेयरमा माओवादीका रवि दङ्गाललाई उम्मेदवार बनाएको छ ।
राप्रपाबाट भने मेयरमा सावित्री भारती र उपमेयरमा बासु तिल्सिना उम्मेदवार बनाएको छ । उता जसपाबाट सुरेश रुम्बा मेयर पदमा उम्मेदवार बनेका छन । नेकपा एकीकृत समाजवादीले भने दिनेश हुमागाईलाई उम्मेदवार बनाएको छ । सामाजिक एकता पार्टीबाट बेदप्रसाद थापा मगरको पनि उम्मेदवारी परेको छ । नेकपा मालेबाट शंकर चिमोरिया र उन्नत लोकतन्त्र पार्टीबाट गीता मैनालीले आइतवार नै मनोनयन पत्र दर्ता गराएका थिए ।
त्यसैगरी निजगढ नगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाटसमेत गरी मेयर पदमा १०, उपमेयरमा ७, वडा अध्यक्षमा ५६ र वडा सदस्यमा १६३ गरी जम्मा २३६ जनाले मनोनय पत्र दर्ता गराएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए ।