खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जले निजगढका २ वटा होटललाई दुई तारे (टु स्टार होटल) को दर्जा दिएको छ । निजगढका होटलहरुले पहिलो पटक टु स्टार पाएका हुन ।

तारा इनले गत वर्ष एक तारा पाएको थियो भने रुद्राक्षले पहिलो पटकमै दुई तारा पाएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जले अनुगमन गर्ने क्रममा निजगढ नगरपालिका वडा नम्बर ८ को होटल रुद्राक्ष र होटल तारा इनलाई ‘ख’ वर्गमा सुचिकृत गर्दै दुई तारे होटलको मान्यता दिएको हो ।

सुचीकरणमा परेका होटलमा स्तरअनुसारको स्टीकर पनि टाँस गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख बिक्की महतो, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, होटल तथा पर्यटन व्यवसायी युवराज लामा, ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरी, निजगढ उद्योग बाणिज्य संघ निजगढका अध्यक्ष रामकृष्ण नेपाल, होटल तथा पर्यटन व्यवसायी महासंघ निजगढका अध्यक्ष प्रभात सिग्देल, सचिव उमेश दहाल, प्रदेश संयोजक मोहन लामिछाने, सदस्य अर्जुन लम्साल, जिल्ला प्रशासन कार्यालय बाराका प्रतिनिधिलगायतको टोलीले निजगढमा संचालित १० वटा होटलको अनुगमन गरेको थियो ।

अनुगमनमा गरिएका अन्य होटलमध्ये हङ्ग्ग्री फास्ट फुड, चङ्के रेष्टुरेन्ट, होटल राजमार्ग र होटल हेबेनलाई ‘ग’ वर्गको मान्यता दिइएको छ । ‘ग’ वर्णमा परेका ४ वटा होटललाई एक तारा दिइएको छ ।

त्यसैगरी अन्यलाई ‘घ’ वर्णमा राखिएको छ । ‘सामान्य’ मा परेका होटललाई कुनै तारा दिइएको छैन ।
अनुगमनको क्रममा होटल तथा रेष्टुरेन्टको भान्सा र खानेकुराको भण्डारको निरीक्षण गरी त्यसको व्यवस्थापन र सरसफाइको गुणस्तरको आधारमा होटलहरुको स्तर निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका प्रमुख महतोले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय