कोरोनाका कारण झण्डै दुई वर्ष स्टेज कार्यक्रम (सांगीतिक कार्यक्रम) ठप्पः प्राय रहे । स्टेज कार्यक्रम नहुँदा स्टेजमा ब्यस्त हुने कलाकारहरु लामो समय फुर्सदमा बस्नुपर्यो । यतिबेला भने स्टेज कार्यक्रमहरु हुन थालेका छन् । स्टेज कार्यक्रम हुन थालेपछि कलाकारहरु पनि तुलनात्मक रुपमा ब्यस्त बन्न थालेका छन् ।

दशैंको अवसरमा देशका विभिन्न जिल्लामा थुप्रै सांगीतिक कार्यक्रमहरु भए । ति कार्यक्रमहरुमा थुप्रै कलाकारहरुले प्रस्तुती दिए । अब, तिहार विशेष कार्यक्रमहरु पनि तय हुन थालेको कलाकारहरु बताउँछन् । यसरी स्टेज कार्यक्रमहरु सुरु हुन थालेपछि कलाकारहरुमा उत्साह थपिएको छ ।

गायक प्रमोद खरेलले डेढ वर्षपछि दशैं अगाडि केही सांगीतिक कार्यक्रममा प्रस्तुती दिए । दशैं अगाडि काठमाडौं, नवलपरासी, झापा, मोरङलगायतका स्थानमा सांगीतिक कार्यक्रममा प्रस्तुती दिएका प्रमोदलाई तिहार विशेष कार्यक्रमका लागि थुप्रै स्थानबाट अफर आईरहेको छ ।

खरेलले भने–‘सामान्य अवस्थामा हुँदा जतिकै त कार्यक्रमहरु हुन सुरु भएका छैनन् । पहिलेको जस्तो माहोल आउन त समय लाग्छ । तर, कार्यक्रमहरु हुन सुरुवात चाँही भएको छ । यसले कलाकारहरुमा उत्साह थपेको छ ।’

तिहार विशेष कार्यक्रमका लागि इटहरी, सिक्किम लगायतका स्थानबाट कार्यक्रमको कुरा आईरहेको बताउँदै उनले अगाडि भने, – ‘तिहारमा दुबई पनि जाँदैछु ।’

गायक शिव परियारले दशैं अगाडि तीनवटा स्टेज सो गरे । तिहारपछि उनको भारतमा स्टेज सोको तय भएको छ । देशभित्रका अन्य केही स्थानबाट समेत तिहार विशेष कार्यक्रमका लागि कुरा आईरहेको जानकारी दिए ।

दशैंको आसपासमा गायक खेम सेञ्चुरीले पनि केही स्टेज कार्यक्रममा प्रस्तुती दिए । उनले भने, ‘आउँदो सातादेखि तिहार विशेष केही सांगीतिक कार्यक्रमहरु तय भएका छन् । अब, कोरोनाले प्रभावित पारेको स्टेज कार्यक्रमहरु विस्तारै लयमा फर्किने अपेक्षा छ ।’

गायिका रचना रिमालले दशैं आसपासमा आधा दर्जन स्टेज कार्यक्रममा आफ्नो प्रस्तुती दिइन् । कीर्तिपुर, सिमरा, गाईघाट, उर्लाबारी लगायतका स्थानमा स्टेज कार्यक्रम गरेकी रचनालाई तिहार आसपासमा हुने सांगीतिक कार्यक्रमका लागि विभिन्न स्थानबाट निम्तो आईरहेको छ ।

‘तिहारका लागि पनि थुप्रै ठाउँबाट निम्तो आईरहेको छ’ रिमालले भनिन्, ‘केही कार्यक्रममा प्रस्तुती दिएर तिहारमा भने कार्यक्रमकै लागि दुबई जानेछु ।’ गायक खुमन अधिकारीले पनि दशैं आसपासमा काठमाडौं, रुपन्देही, गुल्मी लगायतका जिल्लामा भएका सांगीतिक कार्यक्रममा पुगेर प्रस्तुती दिएका थिए । उनीपनि बिस्तारै स्टेज कार्यक्रमहरु सुरु हुन थालेको बताउँछन् ।

‘रुपन्देही र चितवनमा तिहार विशेष कार्यक्रमको तय भैसकेको छ । अन्यतिरबाट पनि कार्यक्रमको कुरा आईरहेको छ’ अधिकारीले भने – ‘पहिले सामान्य अवस्थामा जस्तो कार्यक्रमहरु नभएपनि विस्तारै स्टेज कार्यक्रम लयमा फर्किने आशा जागेको छ ।’ असोज–कात्तिकपछि चैत बैशाखसम्म देशका विभिन्न जिल्लाहरुमा मेला–महोत्सव, कन्सर्टहरु आयोजना हुन्थे । गतवर्ष कोरोनाका कारण देशभित्र मेला– महोत्सव खासै हुन सकेका थिएनन् । यसवर्ष विभिन्न जिल्लाहरुमा मेला महोत्सव हुने र आफूहरु त्यसमा ब्यस्त हुन पाउने आशा आफूले लिएको गायक अधिकारीले बताए ।

गायक प्रमोदले पनि तिहारपछि पहिलेको जति मेला–महोत्सव नभएपनि केही मात्रामा हुने आशा लिएको बताउँछन् । उनले भने, ‘पहिलेको जति मेला–महोत्सव नहोलान्, तर केही मात्रामा भने पक्कै हुन्छन् ।’

प्रमोद स्टेज कार्यक्रमले बजारलाई चलायमान बनाउने बताउँछन् । ‘सांगीतिक कार्यक्रमले संगीत संगसंगै व्यापार–व्यवसायसमेत अगाडि बढ्छ । मान्छेको सोँच्ने तरिका पनि फरक पर्दै जान्छ । यसले आर्थिक गतिविधि चलायमान बनाउँछ । अब राम्रो हुँदै जाला भन्ने आशा चाँही पलाएको छ ।’

गायक शिव परियार भने तिहारपछि मेला–महोत्सव तथा सांगीतिक कार्यक्रम हुनेबारे केही अनुमान गर्न नसक्ने बताउँछन् । उनले भने, ‘कोरोना संक्रमण बढेर फेरी ठप्प पनि हुनसक्छ । अहिले जुन अवस्था छ त्यहि अवस्था रह्यो र कोरोना कम हुँदै गयो, मानिसहरु सुरक्षित महशुस गरेर निस्किने अवस्था रहे राम्रै मात्रामा सोहरु होलान् ।’

सरकारले ठूलो संख्याको उपस्थितिमा हुने स्टेज कार्यक्रम खुला नगरिसकेको अवस्थामा कार्यक्रमबारे अन्यौलता नै रहने उनी बताउँछन् ।

‘स्टेज कार्यक्रमका लागि आयोजकको धेरै पैसा लगानी भएको हुन्छ’ उनले अगाडि भने, ‘कार्यक्रम तय भएर प्रचारप्रसार हुँदासम्म प्रशासन चुप बस्दिने तर कार्यक्रमको अघिल्लो दिन कार्यक्रम स्थगित भएका उदाहरण यस अगाडि छन् । त्यसकारण अहिलेको अवस्थालाई हेरेर ठ्याक्कै के होला भन्नै सकिँदैन् ।’

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी सांगीतिक कार्यक्रमहरु हुन सुरु भएसँगै लोकदोहोरी कलाकारहरुमा उत्साह थपिएको बताउँछन् । उनले कोरोना संक्रमण दर घटे तिहारपछि स्टेज कार्यक्रमले गति लिने आशा रहेको बताए । ‘फाट्टफुट्ट सांगीतिक कार्यक्रमहरु सुरु भएका छन् । यसले कलाकारहरु आशावादी र उत्साहित हुनुहुन्छ । कोरोना संक्रमण दर बढेन् भने तिहारपछि स्टेज कार्यक्रमले गति लिने आशा छ’– बिजीले भने ।

चर्चामा रहेका गायक–गायिकाहरुको स्टेज कार्यक्रममा राम्रो डिमाण्ड हुने गर्छ । उनीहरुको आम्दानीको मुख्य स्रोत नै स्टेज कार्यक्रम मानिन्छ । तर, कोरोनाको कारण सांगीतिक कार्यक्रम नहुँदा स्टेजमा ब्यस्त हुने कलाकारहरु मर्कामा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय