बारामा प्रहरीले ठूलो मात्रामा भन्सार छलीको मोबाइल फोनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ घर भएका पदमबहादुर घिमिरेलाई काठमाडौँबाट अवैधि तरिकाले भन्सार छलेर ल्याइएको १६ लाख रुपैयाँ बाराबारको मोबाइलसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरी टोलीले घिमिरेले चलाईरहेको प्रदेश २–०३–००१ च १४३ नम्बरको बोलेरो गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीमा लुकाएर ल्याइरहेको १५ सय २० थान मोबाइल बरामद गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिए ।

डिएसपी कुँवरका अनुसार घिमिरेलाई असार २१ गते राति साढे ८ बजेको समयमा प्रहरीले काठमाडौँबाट वीरगञ्ज तर्फ मोबाइल लिएर आईरहेको अवस्थामा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगञ्ज सडकखण्डबाट पक्राउ गरिएको थियो ।

घिमिरेले मोबाइलको बिलविजक देखाउन नसकेपछि उनलाई हिरासतमा लिइएको कुँवरले बताए । प्रहरीले बरामद गरिएको मोबाइलको १५ लाख ८६ हजार र गाडीको १५ लाख गरी ३० लाख ८६ हजार रुपैयाँ मुल्यांकन गरेर आवश्यक कारवाहीका लागि राजश्व कार्यालय सिमरा बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय