पुर्वपश्चिम राजमार्ग अन्तगर्त बाराको निजगढ स्थित भमरा खोला नजिक जंगलमा हिजो राति मोटरसाइकल दुर्घटनामा परी एकजना स्वास्थ्यकर्मीको मृत्यृ भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ७ घर भइ हाल निजगगढ नगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्ने वर्ष ३६ का नागेन्द्र साह तेलीको शव प्रहरीले राजमार्गबाट सिगौल जाने सडकबाट पुर्वतर्फ सडक छेउमा हिजो राति ८ बजे फेला पारेको हो ।
ना ३९ प २६०१ नम्बरको मोटरसाइकलमा निजगढबाट रौतहटको सिम्रीतर्फ जादै गरेको अवस्थामा मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ । स्वास्थ्यकर्मी साहले सिम्रीमा औषधि पसल समेत संचालन गर्दै आएका छन ।
मोटरसाइकलमा भने कुनै क्षेति नभएको र साहको कन्चटमा एउटा ठुलो चोटमात्रै रहेकोले उनको मृत्यु शंकास्पद देखिएको भन्दै मृतक साहका आफन्तले आज हत्या भएको हुन सक्ने भन्दै ईलाका प्रहरी कार्यालय निजगढमा अनुसन्धानको माग गरेका छन ।
टाउकोमा हेल्मेट र मुखमा लगाएको मास्क समेत कुनै किसिमको दाग समेत नलागेको अवस्थामा साहको टाउकोमा ठुलो चोट देखिएको हुदा हत्यापछि मोटरसाइकलमा राखेर निजलाई उक्त स्थानमा ल्याएर छोडेको हुन सक्ने आफन्तको आशंका रहेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।