विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालका अनुसार उपचाररत उनको भर्खरै निधन भएको हो ।

थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । याे प्रविधिबाट उपचार गराउँदा दैनिक पाँच लाख खर्च लाग्ने बताइन्छ ।

विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो ।

थापाको उपचारका लागि साथीभाइ र पार्टीका शुभेच्छुकहरुले परिवारसँग सल्लाह गरेर स्वतः स्फूर्तरुपमा रकम संकलन पनि गरेका थिए ।

थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए । पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो ।

एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् ।

अन्तिम पटक गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको भए पनि परिवारले उनको अन्त्येष्टि साधारण पारिपारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको पविनर तथा शुभेक्षुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।

हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।

उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

२०७८ जेठ १८ गते

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय