योगका आदिगुरु भगवान् शिवलाई मानिन्छ । योगका छरिएर रहेका आयामहरूलाई संकलित गरी प्रस्तुत गर्ने महर्षि पतञ्जलिले ‘योगसूत्र’ भन्ने पुस्तकमा भनेका छन् – योगश्चित्तवृत्ति निरोधः । अर्थात् चित्त वृत्तिको निरोध नै योग हो ।

यसबाट के बुझिन्छ भने योगको उद्देश्य चित्त वृत्तिहरूको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउनु नै योग हो ।

योगले प्राकृतिक तरिकाले जीवन व्यतीत गर्न सहयोग गर्छ । आज संसारभर लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग, भक्तियोग आदि अनेक रूपमा हिन्दू, बौद्ध एवं जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो– जोड्नु ।

योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसँग सम्बन्धित गर्नसक्छ । शारीरिक एवं मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य आदि अनेकौं पक्षसँग यसको सम्बन्ध हुन्छ । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगका रूपमा बुझिन्छ । वास्तवमा योगको उद्देश्य भनौं वा अर्थ जीवात्मालाई परमात्मासँग जोड्नसक्ने बनाउनु हो । यसरी जीवात्मा र परमात्मालाई जोड्ने क्रिया नै वास्तविक अर्थमा योग हो ।

यौगिक क्रियाको सर्वप्रथम वैज्ञानिक व्याख्या गर्ने व्यक्ति पतञ्जलि हुन् । उनको ग्रन्थ ‘योगसूत्र’ अहिले संसारका सबैजसो भाषामा अनुवाद भइसकेको छ । यस ग्रन्थकोे पहिलो व्याख्या व्यास र वाचस्पति मिश्रबाट भयो भने पछि धेरैले यसको व्याख्या गरे ।

योगसूत्रलाई योग र ध्यानको आधार मानिन्छ । विश्वका प्रथम योगी शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्ति पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यद्यपि योगशास्त्र भने भगवान् कृष्णको योगदान हो र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योगसूत्रमा बताइएका अधिकांश कुरा गीतामा पनि छन् । पतञ्जलि योगसूत्र

पतञ्जलिले योगसूत्रमा १ सय ९५ सूत्र दिएका छन् । जसलाई उनले चार खण्डमा विभाजित गरेका छन्– १. समाधि पाद (५१ सूत्र) २. साधन पाद (५५ सूत्र) ३. विभूति पाद (५५सूत्र) ४. कैवल्यपाद (३४ सूत्र) । पतञ्जलि योगसूत्रमा योगका आठ चरणलाई अष्टांग योगका रूपमा बताइएको छ । जसअन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्दछन् । यिनलाई एकपछि अर्को गरेर साध्दै जाँदा जीवात्मा परमात्मासम्म पुग्छ भन्ने विश्वास पतञ्जलिको छ ।

–यम भनेको अठोट हो । यसका लागि व्यक्तिले अहिंसा, अस्तेय, सत्य, ब्रह्मचर्य र अपरिग्रह जस्ता आचरण पालन गर्नुपर्छ ।

–नियम दोस्रो खुड्किलो हो । यसभित्र शुद्धता, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधानजस्ता पाँचवटा कुराको पालना गर्नुपर्छ ।

–आसन तेस्रो चरण हो । यम र नियम पालन गरिसकेपछि साधकले आसन साध्नुपर्छ । यसका लागि स्थिर र सुखासनमा बसेर ध्यान गर्नुपर्छ । यस चरणको ध्यानका लागि ओंकार सहायक हुन्छ ।

–प्राणायाम चौथो खुड्किलो हो । प्राणायामभित्र श्वासप्रश्वासलाई साधिन्छ । यसका अनेकौं आयाम छन् ।

–प्रत्याहार विधिमा इन्द्रियलाई इन्द्रियार्थ गराउनु पर्छ । भोगले इन्द्रिय नभोगून् बरु इन्द्रियले भोगलाई भोगून् भन्ने आशय यसमा पाइन्छ । प्रति आहार अर्थात् हाम्रो आहारको गति विपरीत हुन जाओस् भन्ने यसको आशय हुन्छ ।

–प्रत्याहारपछि योगी अन्तर्मुखी हुन थाल्छ । अनि सूक्ष्मबाट अति सूक्ष्मभित्रको शून्यमा ध्यान केन्द्रित गर्दै गर्न थाल्नुपर्छ । जसलाई धारणा भनिन्छ ।

–माथिका सबै प्रक्रिया पार गरिसकेपछि ध्यानमा पुगिन्छ । अन्तर्यामी ब्रह्ममा मन र चित्तलाई एकाग्रचित्त गराउनु नै ध्यान हो । यो क्रिया नभएर अक्रिया हो । यसअघिको प्रत्येक चरण क्रिया हुन् तर ध्यानमा पुगेपछि त्यही क्रिया अब अक्रिया हुन्छ ।

–समाधि गरेर हुने नभई माथिका सबै चरण पार गरेपछि घटित हुने कुरा हो । यो योगको लक्ष्य नै हो भने पनि हुन्छ । समाधि अवस्थामा आनन्दमय, ज्ञानमय, ज्योतिर्मय एवं शान्तिमय जुन स्वरूपमा पुगिन्छ त्यसपछि पूर्ण तृप्ति वा परमआनन्द प्राप्ति हुन्छ । यो अवस्थामा पुगिसकेपछि मानव जीवनमा केही पनि गर्न बाँकी रहँदैन । यस्तो अवस्थामा पुगेको योगी त्रिगुणातीत अर्थात् सत्व, रज र तम गुणबाट पर पुग्छ । उसका लागि केही पनि प्राप्त गर्न बाँकी रहंदैन । यस अवस्थामा पुगेका योगीहरू

कैयौं दिन खानपिन छोडेर त्यत्तिकै बस्न सक्छन् । जब ध्यान भंग हुन्छ उनीहरू पुनः जाग्रत हुन्छन् ।

योगशास्त्र के हो ?

योगशास्त्र धार्मिक ग्रन्थ मानिन्छ तर कुनै सम्प्रदायसंग यसको सम्बन्ध छैन । यो शारीरिक योग मुद्राको शास्त्र पनि होइन । यो आत्मा र परमात्माको योगको विषय मात्र हो । तर यसमा बताइएको समाधि प्राप्तिको अधिकार आस्तिक तथा नास्तिक दुवैलाई छ ।

पातञ्जली योगसूत्रकै आधारमा वर्तमान समयका अनेक सन्त महापुरुष र आध्यात्मिक गुरुहरूले समयसापेक्ष हुने गरी ध्यानका विभिन्न विधिहरूको विकास गरेका छन् । स्वामी रामकृष्ण, स्वामी विवेकानन्द, महर्षि अरविन्द, रमण महर्षि, महर्षि महेश योगी, सत्य साई, ओशो रजनीश, पाइलटबाबा, र श्रीश्री रविशंकर, ब्रह्म बाबा आदिले ध्यानका विधिमाथि प्रयोग गरेका छन् । उनीहरूबाट विपश्यना ध्यान, कुण्डिलीनी ध्यान, राजयोग ध्यान, भावातीत ध्यान, सक्रिय ध्यान, ज्योतिध्र्यान, सहजध्यान, सुदर्शन क्रिया आदि अनेकौं तरिका विकास भएका छन् ।

योग र ध्यानको फाइदा

आज विश्वले योगको महत्व बुझ्न थालेको छ । योगलाई शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । आज यो योगाको नामले विश्वभर फैलिएको छ र थुप्रैले यसबाट लाभ लिइरहेका छन् । योग र ध्यानबाट निम्नलिखित फाइदा प्राप्त हुने कुरा आधुनिक चिकित्सापद्धतिले समेत स्वीकार गरेको छ–

–शारीरिक एवं मानसिक स्वास्थ्यलाभ

–कार्यक्षमता वृद्धि

–चिन्ताबाट छुटकारा

–रोग प्रतिरोधी क्षमतामा वृद्धि

–तन, मन र आत्मा बीचको लयात्मकता

–अनावश्यक विचारबाट मुक्ति

–सकारात्मक सोचको विकास

–ऊर्जाको केन्द्रीकरणबाट आन्तरिक शक्ति सञ्चार

–आत्मज्ञान प्राप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय