प्रेम गरेको यूवकसँग विवाह गर्न नपाएको निहुँमा जीतपुरसिमरा उपमहागरपालिका १८ पसाहटोलका दुई किशोरीले झुण्डीएर आत्माहत्या गरेका छन् । स्थानिय सीतामाया पाख्रिनकी १८ बर्षिया छोरी सम्झना र भिम बहादुर गोलेकी १५ बर्षकी सुस्मीताले एकै रुखको एउटै हाँगामा सलको पासो लगाएर आत्माहत्या गरेको पाईएको हो । दुवै किशोरी मामा फुपुका छोरी दिदिबहिनी भएको मृतक सम्झनाकी आमा सीतामायाले बताईन् ।

उनका अनुसार सम्झना शनिबार मात्रै सोही पालिकाको वडा नं.१७ जैतापुरका चौधरी थरका युवकसँग भागेर गएकी थिईन् । सोकुरा थाहा पाएर आफन्तले सोही साँझ दुवैलाई सम्झाउँदै सम्झनालाई फकाएर घर फिर्ता ल्याएका थिए ।

सम्झनालाई उनका आफन्तले फिर्ता ल्याएपछि चौधरी यूवकले समेत आफ्ना आफन्तलाई मर्ने धम्की दिएका थिए । दुबैले एकआर्का बिच छुट्टीएर बस्न नसक्ने बताएपछी दवावमा परेका दुबैपक्षका आफन्त उनीहरुको विवाह गरिदिने टुङ्गोमा पुगेका रहेछन् । चौधरी युवक र सम्झनाको विवाह गरिदिन दुवैपक्षका अविभावकका विच आईतबार कुराकानी चलिरहेको थियो । सोही क्रममा एकाएक आत्माहत्याको कुरा आयो मृतक सम्झनाकी आमा सीतामायाले सुनाईन् । अरु कोही दोषी छैनन् । छोरीले बुद्धि विगारी उनले सुनाईन् ।

सम्झनाले त मनपराएको युवक नपाउँदा ज्यान फलिन होला तर सुस्मीताले किन त्यसो गरिन् ? भन्ने हाम्रो प्रश्नमा स्थानिय बनु पाख्रिनका अनुसार दुवैजनाले एकै यूवालाई मन पराएको हुनसक्ने बताईन् । सम्झना र सुस्मीता दिदि बहिनी मात्रै नभएर असाध्यै मिल्ने साथी थिए । घाँस दाउरा गोठालोसँगै उनीहरुको गाँसबास समेत सँगै हुन्थ्यो । मजाक गरेझैं उनीहरु एउटै केटासँग विवाह गर्ने, सँगै मर्ने, सँगै बाँच्ने कुरा गर्थे उनले सुनाईन् ।

किशोरीहरुले आत्माहत्या गर्नुपूर्व आफ्ना देब्रेहातमा आर प्लस एस भनि ब्लेडले लेखेको पाईएको छ । उनीहरुले दुवैले मन पराउने केटाको नाम राहुल भएको र सोको अंग्रेजी पहिलो अक्षर आर र आफ्नो नामको पहिलो अक्षर एस लेखिएकाले दुवैले एकैयुवकलाई मन पराएको हुन सक्छ । सोही यूवकसँग विवाह गर्न परिवारले नदिएको झोकमा गलत कदम उठाएको हुन सक्ने स्थानिय समेत रहेका वडा नं.१८का वडा सदस्य कुमार लामाले बताए ।

सोमबार विहान घरमा खाना खाएर निस्कीएका उनीहरुको विहान ११:०० बजे कोल्हवी नगरपालिका वडा नं. ८ को काँठगाउँ नजिकै पिठारीको रुखमा झुण्डीएको अवस्थामा शव फेला परेका थिए ।

अशिक्षा, अज्ञानता र अल्लारे पनको उपज किशोरीहरुको आत्माहत्या भएको प्रारम्भीक अनुसन्धानले देखिएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम् मिश्रले जानकारी दिए । एकै यूवकसँगको प्रेममा रहेका उनीहरुलाई परिवारले कलिलै उमेरमा विवाह गर्न नहुने भनि सम्झाएको पाईयो । सोही झोकमा उनीहरुले गलत बाटो रोजेको अनुन्धनबाट बुझिन्छ ।

मृतक किशोरीहरुको शव जिल्ला अस्पताल कलैयामा पोष्मार्टमका लागि राखिएको छ । आज नभ्याईएकाले सोमबार मात्रै पोष्मार्टमपछि उनीहरुको शव परिवारको जिम्मा लगाईने प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय