बारामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका २ बिनौली बस्ने ३५ वर्षीय पुरुष र जितपुरसिमरा उपमहानगरपलिका १ बस्ने ३८ वर्षीय पुरुष रहेका छन ।
पर्साको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा फेटा गाउँपालिका–२ बिनौली बस्ने ३५ वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि दुई दिन अघि कोरोना अस्पतालको इमर्जेन्सी वार्डमा उनी भर्ना भएका थिए । भोलिपल्ट गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालका अनुसार उनी मधुमेहका बिरामी समेत थिए ।
यस्तै, चितवनको भरतपुरमा रहेको भरतपुर अस्पतालमा उपचाररत जितपुरसिमरा अपमहानगरपालिका-१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातिमा समस्या भइ वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको साँझ ६:४५ बजे मृत्यु भएको हो ।
योसँगै नयाँ भेरियन्टको कोरोना संक्रमणबाट बारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।