हिमालयन शेर्पाविरुद्ध जित हात पार्दै आयोजक नवजनजागृती यूवा क्लब विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

सिमराको जितमा अफ्रिकी स्ट्राइकर लुइस भिडाल, सकल रेग्मी र डोना थापाले गोल गरे । हिमालयन शेर्पाका लागि पूर्ण गुरुङ र रवि रानाले गोल गरे ।

घरेलु दर्शकको समर्थन पाएको सिमरा विरुद्ध लिएको शूरुवाती अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा क्वाटरफाइनलबाटै बाहिरीयो । तुलनात्मक रुपमा कमजोर सिमराविरुद्ध खेलको १९ औं मिनटमा पूर्ण गुरुङको गोलमा हिमालयन शेर्पाले अग्रता बनाएको थियो ।

खेलमा १–० ले पछि परेको सिमराले आक्रामक खेल प्रस्तुत गर्दै पाँच मिनेट भित्रै हिमालयन शेर्पाविरुद्ध दुई गोल गरेर अग्रता बनायो । खेलको २४ औं मिनटमा अफ्रिकी स्ट्राइकर लुइस बिडालले गोल गरे । लगतै २५ औं मिनटमा डोना थापाले गोल गर्दै शेर्पालाई दबाबमा राख्यो ।
६३ औं मिनटमा सिमराका सकल रेग्मीले गोल गर्दै सिमराको अग्रता फराकिलो पारे । लुइस बिडालको सुन्दर पासलाई डिबक्स बाहिरबाट सकलले गरेको पहिलो प्रहार हिमालयन शेर्पाका गोल रक्षक छिरिङ लामाले बचाएपनि सम्हाल्न नसक्दा रिवाउण्ड बललाई सकलले गोलमा परिणत गरे ।

अन्तिम समयमा सिमराविरुद्ध आक्रामक बनेको हिमालयन शेर्पाका लागि रवि रानाले ८८ औं मिनटमा फ्रिकिक गोल गरे । हिमालयन शेर्पाका पूर्ण गुरुङलाई सिमराका अफ्रिकी खेलाडीले फाउल गरेपछि पाएको फ्रिकिकलाई झण्डै २५ यार्डबाट रविले गोलमा परिणत गरेपनि टिमको हार टार्न सकेनन् ।

दोश्रो हाफमा हिमालयन शेर्पाले बनाएका केहि राम्रा अवसर गोलमा परिणत हुन सकेन । ५४ औं मिनटमा हिमालयन शेर्पाका पूर्ण गुरुङको प्रहारलाई सिमराका डिफेण्डर रोहन तामाङ क्लिएर गरे । डिबक्स भित्र किपर समेत विट भइसकेको अवस्थामा गोललाइनबाट रोहनले बल क्लिएर गर्दै हिमालयन शेर्पालाई बराबरी गोल गर्नबाट रोके ।

६४ औं मिनटमा हिमालयन शेर्पाले अर्को सुन्दर अवसर गुमायो । पूर्ण गुरुङको क्रसपासमा कमल थापा मगरले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहार सिमराका गोलरक्षक सुवास बलले उत्कृष्ट बचाउ गरे । ८९ औं मिनटमा कैलाश बस्नेतको प्रहार पोष्ट नजिकबाट बाहिरीयो त्यस लगतै खेलको ९० औं मिनटमा हिमालयन शेर्पाले पाएको अर्को अवसरपनि खेर गयो । डिबक्स भित्रैबाट वर्तमान राईले गरेको सशक्त प्रहार सिमराका गोलरक्षकले बचाए ।

खेलको म्यान अफ दि म्याच सिमराका गोलरक्षक सुवास बल घोषित भए । उनले पाँचहजार नगद र ट्रफि प्राप्त गरे ।

आइतबार हुने दोश्रो क्वाटरफाइनलमा त्रिभूवन आर्मी क्लबले अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनको सामना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय