
तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकारण पुरा भएको छ । आईतबार अन्तिम क्वार्टरफाईनलको खेल सम्पन्न भएसंगै तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको हो ।
आईतबार सम्पन्न अन्तिम क्वार्टरफाईनल खेलमा बाघभैरव युवा क्लवलाई ३-१ गोल अन्तरले पराजित गर्दै निजगढ युवा क्लव ए प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । निजगढ युवा क्लवको जितमा खेलको २३ औ मिनेटमा समिर कुमरले गोल गर्दै टिमलाई अग्रता दिलाए । बाघभैरवमाथि निरन्तर आक्रमण गरिरहेको निजगढ युवा क्लवका समिर तामाङले ३९ औ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
१ मिनेट पश्चात नै समिर तामाङलेनै गोल गर्दै टिमलाई ३-० को आवस्थामा पुर्याए । पहिलो हाफमा ३-० ले अघि रहेको निजगढ युवा क्लवले दोश्रो हाफमा पनि गोलको थुप्रै प्रयास गरेपनि सफल हुन सकेन । ७६ औ मिनेटमा बाघभैरवले मैदानको मध्यभागबाट प्राप्त गरेको फ्रिकिक मार्फत मनोज खड्काले गोल गर्दै खेलमा फर्कने संकेत दिलाएका थिए । तर थप गोल गर्न नसक्दा खेल निजगढ युवा क्लवको पक्षमा गयो ।
खेलमा बाघभैरव युवा क्लवका कप्तान प्रशान्त राउतले पहेलो कार्ड पाएका थिए । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का जन्मजय धामी भए ।
प्रतियोगिता अन्तर्गत सोमबारबाट सेमिफाईनलका खेलहरु हुने छन । सोमबार हुने पहिलो सेमिफाईनलमा योङ्गस्टार युवा कलव र सिंगौल फुटबल क्लव ए बीच प्रतिस्पर्धा हुने छ । योङ्गस्टारले पहिलो चरणमा चौतारा युवा क्लवलाई पराजित गरेको थियो भने क्वार्टरफाईनलमा एफसी कोलगाउलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
यसैगरी सिंगौल फुटबल क्लव एले पहिलो चरणमा शान्तीटोल युनाईटेड र क्वार्टरफाईनलमा निजगढ सिटि क्लवलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेल शहिद हिरालाल रंदशालामा दिउसो २ः३० देखि शुरु हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।
