विद्युतीय चुलोसम्बन्धी अभिमुखीकरण तथा प्रदर्शनी निजगढमा बुधवार सम्पन्न भएको छ । कार्यक्रममा निजगढका प्रमुख सुरेशकुमार खनालले विद्युतीय चुलो मानव स्वास्थ्यको लागि अति उपयोगी भएको बताए ।

बाराका स्थानीय पालिकाहरूमध्ये विद्युतीय चुलो पालिकावासीलाई उपलब्ध गराउने पहिलो नगरपालिका निजगढ रहेको उनले बताए । हामीले निजगढलाई स्मार्ट सिटी बनाउने भनिरहँदा समय सुहाउँदो प्रविधिलाई प्रयोगमा ल्याउनुपर्ने भएकोले नगरपालिकाको तर्फबाट सो चुलोको लागि उपभोक्ताले रु एक हजार, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र / नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमले ६० प्रतिशत र बाँकी निजगढ नपाले बेहोर्ने गरी सो चुलो नगरवासीलाई सहजरूपमा उपलब्ध गराउने योजना अघि बढेको नगरप्रमुख खनालले जानकारी दिए ।

आवश्यक विद्युत् वायरिङसहित प्रतिचुलो ४ हजार २२३ रुपैयाँ लागत लाग्ने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका सहायक निर्देशक मुकेश घिमिरेले जानकारी दिए।

निजगढको लागि यस वर्ष १ हजार थान विद्युतीय चुलो तीन महीनाभित्र वितरण गर्ने योजना रहेको जनाउँदै कोभिड–१९ अघि नै वितरण गर्ने योजना रहे पनि ढिलाइ भएको उनले बताए । कार्यक्रममा विद्युतीय चुलो कसरी प्रयोग गर्ने, यसका फाइदालगायत अन्य प्राविधिक ज्ञान समेत सहभागीहरूलाई दिइएको थियो।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले विद्युतीय चुलो प्रयोगबाट परम्परागतरूपमा दाउरा, गुइँठा बालेर खाना पकाउने समस्या न्यूनीकरण मात्र नभई धूवाँका कारण चुलोमा काम गर्नेहरूका स्वास्थ्यमा पर्न सक्ने समस्यालाई समेत निरूपण गर्ने बताए । उनले विद्युतीय चुलोबाट वायु प्रदूषण न्यूनीकरण हुने र वनजङ्गलको विनाश पनि न्यूनीकरण हुने बताए ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र/नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालक निजगढ नपाका अधिकृत रविन घिमिरेले गरेका थिए ।
कार्यक्रममा एक सयभन्दा बढी महिलाको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय