तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा एफसी कोलगाउ प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा निजगढ वडा नम्बर ९ लाई ४-० गोल अन्तरले पराजित गर्दै कोलगाउ प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।
खेलको २० औ मिनेटमा कोलगाउका बिराज लामाले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै २७ औ मिनेटमा सुमन मोक्तानको गोलसंगै कोलगाउको अग्रता दोब्बर भएको थियो । खेलको ४१ औ मिनेटमा ससिल बुलोनले गरेको गोल संगै कोलगाउले ३ गोलको अग्रता बनाएको थियो भने निजगढ वडा नम्बर ९ माथि हाबी भएको खेलमा कोलगाउका तर्फबाट कप्तान बाबुराम थिङले ६३ औ मिनेटमा थप १ गोल गर्दै कोलगाउलाई ४-० को जित दिलाए ।
खेलको ५४ औ मिनेटमा वडा नम्बर ९ का कप्तान राजु श्रेष्ठ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए भने खेलको म्यान अफ द म्याच कोलगाउका कप्तान बाबुराम थिङ भए । प्रतियोगिता अन्तर्गत क्वार्टर फाईनलका खेलहरु बिहिबारबाट शुरु हुने छ ।
पहिलो क्वार्टरफाईनलमा बिहिबार निजगढ सिटि क्लव र सिंगौल एफसी ए बीच प्रतिस्पर्धा हुने छ । खेल शहिद हिरालाल रंगशालामा दिउसो २ः३० बजेदेखि शुरु हुने छ । प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्ने छ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्ने छ ।