
राष्ट्रिय दुग्ध बिकास बोर्ड ललितपुरको आयोजनामा निजगढको बागदेवमा मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मत तालिम सुरु भएको छ । बागदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको सभाहलमा शुरु भएको तालिम ५ दिनसम्म चल्ने छ ।
तालिममा डेरी टेक्नोलोजिष्ट राजेश बि.सि र पाण्डव डेरी सफ्टवेयर बुटवलका कपिलदेव न्यौपानेले प्रशिक्षण दिइरहेका छन । दुग्धको गुणस्तर परीक्षण गर्न प्रयोग गरिने मिल्क एनालाइजर मेसिनको बारेमा प्राविधिक ज्ञान अभावमा मेसिनमा आउने सामान्य समस्याले पनि बुटवलसम्म जानुपर्ने बाध्यता रहदै आएकोले गाउँमै जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिए ।

तालिममा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका १२ जना दुध संकलकसहित बारा, रौतहट, सर्लाही, चितवन र मकवानपुर जिल्लाका करिव ३० जना दुग्ध सङ्कलकहरुको सहभागिता छ ।
तालिमको समापन माघ ९ गते दुग्ध बिकास बोर्डका महानिर्देशक डा. राजेन्द्रप्रसाद यादवले गर्ने तय गरिएको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिए ।