निजगढ–फापरबारी सडकको निजगढ–सिगौंल खण्डमा आजबाट कालोपत्रे गर्ने काम शुरु भएको छ । निजगढ– सिगौल खण्डको ६ किलोमिटर क्षेत्रमा उच्च गुणस्तरको अस्फाल्ट कालोपत्रे शुरु भएको हो ।

४ वर्षअघिबाट शुरु भएको सो सडक योजनाको निर्माण कार्य लामो समयसम्म अवरुद्ध भएर एक वर्षअघिबाट मात्र पुन शुरु भएको हो । शुरुमा संघीय सरकारको बजेटबाट निर्माण गरिने भनिएको सो सडक पछि प्रदेश नम्बर २ सरकारले निर्माण गर्ने भन्ने निर्णय भएपछि काम रोकिएको थियो ।

प्रदेश सरकारले सडक निर्माणमा चासो नदेखाएपछि लामो समयसम्म काम रोकिएको र संघीय सरकारले फेरि आफैले बनाउने भनेर बजेट विनियोजना गरेपछि एक वर्ष अघिबाट निर्माण कार्य शुरु भएको निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारीले बताए । पुर्व मन्त्री पुरुषोत्तम पौडेल, नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने लगायतको पहलमा सडक निर्माण गर्न संघीय सरकार तयार भएपछि ठेक्का लगेको वडा अध्यक्ष ढोडारीले बताए ।

निर्माण कम्पनी पप्पुरञ्जन जेभिले ९ करोड रुपैयामा ठेक्का लिएको सो सडक ०७६ चैत्र मसान्तभित्रमा निर्माण कार्य पुरा गरिसक्नु पर्ने संझौता भएको भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनका कारण निर्धारित समयमा पुरा हुन सकेको थिएन ।

निर्माण कम्पनीका साइट इन्जिनीयर संन्तोश शर्माले मौसमले साथ दिएमा १५ दिनभित्रमा सडक कालोपत्रे पुरा गरिने जानकारी दिए । कम्पनीले सडक निर्माणमा आवश्यक उच्च स्तरको अलकत्रा (अस्फाल्ट) उत्पादनको लागि निजगढको भमरा खोला पुल नजिक प्लान्ट राखेर निर्माण कार्य शुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय