बाराको निजगढमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढको आयोजनामा आज पृथ्वी जयन्ती मनाएको हो ।
राप्रपाले निजगढको शहिद चोकमा गरेको कार्यक्रमा पृथ्वी नारायण साहको फोटो राखेर सभामा आयोजना गरेको थियो ।
जनताको चाहना र राष्ट्रको आवश्यकता बमोजिम हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय रहेको राप्रपाका क्षेतिय अध्यक्ष बासुदेब तिमल्सीनाले बताएका छन् । उनले प्रजातन्त्र भनेकै जनताको शासन हुनुपर्ने र प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य रहेको भन्दै राप्रपाले हिन्दुराष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर देशमा हिन्दुराष्ट्र् पुनःस्थापना गर्न जरुरी भएको उनको भनाई रहेको छ ।
यस्तै सभालाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा युवा संगठनका केन्द्रिय महासचिब विनोद कुमार भारतीले गणतन्त्र र संघियता खारेज गरेर २०४६ सालको संविधान लागू गर्नुपर्ने, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने धारणा राखेका थिए । पृथ्वी नारायण साहले देशका लागि दिएको योगदान अविस्मरणीय रहेको भन्दै उनले पुस २७ गते सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन ।
यस्तै, राप्रपा निजगढ नगर कार्य समितिका अध्यक्ष खड्ग प्रसाद उप्रतीले नेपाललाई असान्त पार्नका लागि बाहिरबाट जात, धर्म, दलको नाममा लडाउने काम भइरहेको बताएका छन । नेपाल बलियो रहे मात्रै नेपाली बलियो रहने बताउँदै उनले सबै मिलेर बसे मात्रै देशमा सुख शान्ति र समृद्धि आउने बताएका छन ।
राप्रपा निजगढ नगर कार्य समितिका अध्यक्ष खड्ग प्रसाद उप्रतीको सभाध्यक्षमा आयोजित कार्यक्रममा पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण समेत गरिएको थियो ।
कार्यक्रममा प्रभुख अतिथिको रुपमा राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य मोहन यादब, बिशिष्ठ अतिथिमा राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य गिरिधारी चौधरी, राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा युवा संगठनका केन्द्रिय महासचिब विनोद कुमार भारती, राप्रपा केन्द्रिय सदस्य साबित्री देवी भारतीलगाएत रहेका थिए ।